परराष्ट्रमन्त्री डा. आरजु राणासँग युरोपियन युनियन आबद्ध राजदूतहरूको शिष्टाचार भेट

-


     हिडन खबर    
     जेठ ६ गते २०८२ मा प्रकाशित


काठमाडौँ — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि युरोपियन युनियन (ईयू) आबद्ध देशका काठमाडौंस्थित आवासीय तथा नयाँ दिल्लीस्थित गैरआवासीय राजदूत र मिसन प्रमुखहरूले शिष्टाचार भेट गरेका छन्।

सोमबार परराष्ट्र मन्त्रालयमा सम्पन्न उक्त भेटवार्तामा नेपाल–युरोपियन युनियन सम्बन्ध, आपसी हितका विषय, तथा साझा चासोका विषयमा विस्तृत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भेटका अवसरमा मन्त्री डा. राणाले नेपालका आर्थिक, सामाजिक तथा वातावरणीय क्षेत्रहरूमा युरोपियन युनियन तथा सदस्य राष्ट्रहरूले पुर्‍याउँदै आएको दीर्घकालीन सहयोगप्रति आभार व्यक्त गरिन्। साथै, हालै सम्पन्न सगरमाथा संवादमा युरोपियन युनियन सदस्य राष्ट्रहरूको सहभागिताका लागि पनि धन्यवाद दिइन्।

मन्त्री डा. राणाले नेपाल जलवायु परिवर्तनको गम्भीर असरबाट प्रभावित भएको उल्लेख गर्दै जलवायु न्यायका लागि नेपालले गरिरहेको अन्तर्राष्ट्रिय प्रयासमा युरोपियन युनियन सदस्य राष्ट्रहरूको सहयोगको अपेक्षा व्यक्त गरिन्।

त्यसैगरी, पर्यटन, कृषि, पूर्वाधार निर्माण तथा सूचना प्रविधि लगायतका क्षेत्रमा युरोपियन युनियन सदस्य राष्ट्रहरूले आफ्ना निजी क्षेत्रलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्न आग्रह गरिन्।

नेपाल सन् २०२६ पछि अति कम विकसित राष्ट्र (LDC) बाट स्तरोन्नत हुने प्रक्रियामा रहेकाले त्यसपछिको रूपान्तरण यात्रामा आवश्यक सहयोगका लागि पनि मन्त्री डा. राणाले ईयू सदस्य राष्ट्रहरूमार्फत समर्थनको आग्रह गरेकी थिइन्।

उक्त भेटमा काठमाडौं र नयाँ दिल्लीस्थित युरोपियन युनियन तथा आबद्ध देशका २० जना राजदूत तथा मिसन प्रमुखहरू सहभागी थिए।