
हुम्ला, नाम्खा गाउँपालिका-६ — हुम्लाको तिलगाउँ बस्ती हाल हिमताल फुटेर आएको लेदोसहितको पहिरोको उच्च जोखिममा परेको छ। प्राकृतिक प्रकोपका कारण स्थानीयवासी त्रसित छन् भने राज्यका जिम्मेवार निकायहरूको उपस्थिति अझै नदेखिनु स्थिति झनै गम्भीर बन्दै गएको स्थानीय स्रोतले जनाएको छ।
स्थानीय सूचनाअनुसार, पहिरोले गाउँको खानेपानीको संरचना, आवागमनको बाटो र झोलुङ्गे पुलमा व्यापक क्षति पुर्याएको छ। हालसम्म ३३ जना स्थानीय नागरिक राहत र उद्धारको पर्खाइमा छन् तर उद्धार कार्य प्रारम्भ भएको छैन। यस अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल उद्धार र जोखिममा रहेका बासिन्दाका लागि सुरक्षित बसोबासको व्यवस्था मिलाउन सम्बन्धित निकायहरूलाई तत्काल ध्यान दिन आग्रह गरिएको छ।
राजनीतिक तथा सामाजिक नेतृत्वबाट समेत सरकारलाई जनधनको क्षति हुन नदिन तत्काल सावधानी अपनाउन र उद्धार कार्यमा सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिइएको छ।
यसैबीच, जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण हिमताल फुट्ने जोखिम देशका विभिन्न हिमाली भेगमा बढिरहेको सन्दर्भमा, यसको बहस केवल राजधानी केन्द्रित नभई प्रभावित क्षेत्रहरूमा वैज्ञानिक अध्ययन तथा पूर्वतयारीको खाँचो रहेको भन्दै सरकारलाई दीर्घकालीन योजना र कार्यान्वयनमा लाग्न समेत आग्रह गरिएको छ।












