
दैलेख, ४ जेठ २०८२ — नेकपा (माओवादी केन्द्र) द्वारा सञ्चालित ‘मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियान’ अन्तर्गत पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दैलेख सदरमुकामस्थित सहिद कविराज शर्माको निवास पुगेर परिवारसँग भेटघाट गर्नुभएको छ।
जनयुद्धका क्रममा राज्य पक्षबाट सहादत प्राप्त गरेका कविराज शर्माको सम्झनामा उहाँकी जीवनसंगीनी पवित्रा शर्मा र छोरी हरिमाया शर्मासँग अध्यक्ष प्रचण्डले लामो समय कुराकानी गर्नुभयो।
पवित्रा शर्माले जनयुद्धका क्रममा आफ्नो श्रीमान् कविराज शर्मासहित छोरा नारायण शर्मा र छोरी सिता शर्मा (सफलता)लाई समेत गुमाउनु परेको पीडा अध्यक्षसँग बाँड्नुभयो। उहाँका अर्का ज्वाइँ लक्ष्मी अधिकारी हालसम्म बेपत्ताको सूचीमा हुनुहुन्छ।
हाल पवित्रा शर्मा छोरी हरिमाया शर्मासँग नारायण नगरपालिका–७, दैलेखमा बसोबास गर्दै आउनुभएको छ।
परिवारका सदस्यहरूले जनयुद्धमा देखाएको त्याग र बलिदानको सम्झनामा अध्यक्ष प्रचण्ड निकै भावुक बन्नुभयो। उहाँले सहिद र बेपत्ता योद्धाहरूको बलिदानको जगमा प्राप्त उपलब्धिलाई सुदृढ गर्दै समाजवादको मार्गतर्फ अघि बढ्नुपर्ने धारणा राख्नुभयो।













