मध्यपहाडी लोकमार्ग अभियान कर्णाली प्रवेश, राकम कर्णालीमा जनसंवाद सम्पन्न

-


     हिडन खबर    
     जेठ ५ गते २०८२ मा प्रकाशित


दैलेख, जेठ ४ — माओवादी केन्द्रले सञ्चालन गरेको मध्यपहाडी लोकमार्ग जनअभियान कर्णाली प्रदेशमा प्रवेश गरेको छ। अभियानको सुरुआत सुदूरपश्चिमको बैतडी पाटनबाट गरिएको हो, जुन अछाम हुँदै दैलेखको कर्णाली पुल पार गरी सुर्खेतस्थित राकम कर्णालीमा प्रवेश गरेको हो।

अभियानले कर्णाली प्रवेशसँगै राकम कर्णालीमा पहिलो कार्यक्रमको रूपमा जनसंवाद सम्पन्न गरेको छ। जनसंवादका क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनसम्बन्ध सुदृढ गर्न, सुशासन प्रवर्द्धन गर्न र भ्रष्टाचारविरुद्ध आवश्यक परे नयाँ आन्दोलनको तयारीसमेत गर्न अभियान थालिएको बताए।

उनका अनुसार, मध्यपहाडी लोकमार्ग केवल भौतिक पूर्वाधार निर्माणको योजना होइन, सामाजिक रूपान्तरणको अभियान पनि हो। उनले भने, “विकासबाट पछाडि परेका मध्यपहाडी क्षेत्रका जनतालाई समेटेर समृद्धिको बाटो खोल्न यो अभियान ल्याइएको हो।”

प्रचण्डले माओवादी केन्द्रले सरकारमा रहँदा सामाजिक न्याय र सुशासनका लागि भ्रष्टाचारविरुद्ध दृढ संघर्ष गरेको स्मरण गराउँदै अहिलेको अभियान त्यसैको निरन्तरता भएको बताए। जनताको प्रत्यक्ष सहभागिता र भावना आधारित अभियानमार्फत जनस्तरसँग पुनः सम्बन्ध बलियो बनाउने प्रयास भइरहेको पनि उनको भनाइ थियो।

उनले जनयुद्धका घाइते, अपांगता भएका नागरिक, सहिद परिवार, बेपत्ता व्यक्तिका आफन्त, किसान, मजदुर र उत्पीडित समुदायसँग प्रत्यक्ष संवाद गर्दै अभियान अघि बढाइएको जानकारी गराए।

प्रचण्डले कृषकका लागि मल र बीउको अभाव समाधान, समाजवादको आधार निर्माणमा स्थानीय सरकारहरूको भूमिका, र स्थानीय अर्थतन्त्र सुदृढीकरणका लागि माओवादी केन्द्रले नीतिगत रूपमा मार्गदर्शन गरिसकेको बताए। “स्थानीयतालाई संरक्षण र प्रवर्द्धन गर्दै जनपक्षीय शासन सञ्चालन गर्ने पार्टी माओवादी केन्द्र नै हो,” उनले भने।

आज दिउँसो १ बजे दैलेखको सदरमुकाममा भव्य जनसभा आयोजना हुने कार्यक्रम रहेको छ। उक्त सभामा प्रचण्डसहित अन्य नेताहरूले सम्बोधन गर्नेछन्।