
काठमाडौं, ३ जेठ — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) का महासचिव इन्द्रमणि पाण्डेले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
सगरमाथा संवादमा सहभागी हुन काठमाडौं आउनुभएका महासचिव पाण्डेले मन्त्री डा. राणासँग साइडलाइन भेट गर्नुभएको हो। भेटका क्रममा मन्त्री डा. राणाले बिमस्टेकका उद्देश्य र सिद्धान्तप्रति नेपालको दृढ प्रतिबद्धता दोहोर्याउनुभएको थियो।
भेटमा नेपाल–बिमस्टेकबीच जलवायु परिवर्तनका क्षेत्रमा गर्न सकिने सम्भावित सहकार्य र समन्वयका विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
यस्तै, मन्त्री डा. राणासँग किर्गिस्तानका राष्ट्रपति सदर जापारोभका विशेष दूत दिनारा कामेलोभाले पनि आजै शिष्टाचार भेट गर्नुभएको छ। सगरमाथा संवादमा सहभागी हुन नेपालमा रहनुभएकी कामेलोभासँगको भेट होटल सोल्टीमा सम्पन्न भएको हो।
भेटमा मन्त्री डा. राणाले उहाँलाई सगरमाथा संवादमा सहभागिताका लागि धन्यवाद व्यक्त गर्नुभएको थियो। साथै, दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्दै पर्यटन, कृषि, जलविद्युत् लगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने सम्भावनाबारे पनि छलफल भएको थियो।









