
काठमाडौं ।जेठ ३
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमासद्वारा अपहरणमा परेका नेपाली युवक विपीन जोशीको रिहाइ तथा स्वदेश फिर्तीसम्बन्धी विषयमा थप पहल गर्न कतार सरकारसँग पुनः आग्रह गरेकी छन्।
शुक्रबार काठमाडौँमा आयोजित सगरमाथा संवाद कार्यक्रममा सहभागी हुन आएका कतारको विदेश मन्त्रालय अन्तर्गत जलवायु परिवर्तन तथा दिगोपनसम्बन्धी विशेष दूत बदर उमर इस्माइल अल दफासँग भएको भेटका क्रममा मन्त्री डा. राणाले यो आग्रह गरेकी हुन्।
शिष्टाचार भेटका क्रममा मन्त्री राणाले विपीन जोशीको अवस्थाबारे चासो व्यक्त गर्दै उनको सुरक्षित रिहाइ तथा नेपाल फिर्तीका लागि कतारले गर्दै आएको प्रयासप्रति आभार व्यक्त गरिन्। साथै उनले यस विषयमा निरन्तर सक्रिय पहल जारी राख्न र थप प्रयास गर्न पुनः अनुरोध गरिन्।
यसअघि पनि मन्त्री डा. राणाले कतारका विदेशमन्त्री तथा इजरायल-हमास वार्तामा मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेका पक्षसँग जोशीको रिहाइका लागि कूटनीतिक पहल गरिदिन बारम्बार आग्रह गर्दै आएकी छन्।
सन् २०२३ देखि हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका लागि मन्त्री राणाले अन्तर्राष्ट्रिय समुदायसँग समेत सहकार्यको अपिल गर्दै आएकी छन्।
शुक्रबारकै भेटमा उनले सगरमाथा संवादमा कतारको सक्रिय सहभागिताप्रति धन्यवाद दिँदै, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि आगामी दिनमा सम्भावित सहकार्यबारे पनि छलफल गरेकी थिइन्।









