जलवायु परिवर्तनले मानवताको भविष्य नै संकटमा पार्दैछ : परराष्ट्रमन्त्री डा. राणा

-


     हिडन खबर    
     जेठ ३ गते २०८२ मा प्रकाशित


काठमाडौँ — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनले मानवताको भविष्य नै संकटमा पारिरहेको बताएकी छन्। शुक्रबार काठमाडौँमा सुरु भएको ‘सगरमाथा संवाद’को उद्घाटन सत्रमा उनले जलवायु परिवर्तन विश्वव्यापी समस्या भएको स्पष्ट पारिन्।

“अब जलवायु परिवर्तन कुनै देश वा क्षेत्रको मात्र समस्या रहेन, यसले सम्पूर्ण मानव जातिलाई नै संकटमा पार्दैछ,” मन्त्री राणाले भनिन्, “यसको सामना गर्न एक्लो प्रयास होइन, संयुक्त र समन्वित अभियान आवश्यक छ।”

सगरमाथा संवादको आदर्श वाक्य ‘वादे वादे जायते तत्वबोधः’ उल्लेख गर्दै उनले बहस र विचारको आदानप्रदानबाट समाधान खोज्नु आजको आवश्यकता भएको बताइन्।

सम्बोधनका क्रममा उनले जलवायु परिवर्तनका कारण नेपाल लगायत विश्वकै वातावरण जोखिममा परेको जनाउँदै इमानदार संवाद र प्रभावकारी कार्यको खाँचो औँल्याइन्। “हामी नदी, वन र पहाडका संरक्षक हौं, तर नकारात्मक असरको असमान भार नेपालजस्ता मुलुकले बेहोर्नुपरेको गम्भीर अन्याय हो,” उनले भनिन्।

तीन दिनसम्म चल्ने संवादमा जलवायु संकटसँग जुझ्ने उपाय र मानव जीवनको संरक्षणमा केन्द्रित छलफल हुने जानकारी दिइयो।

मन्त्री राणाले पछिल्ला वर्षहरूमा नेपालले बाढी, हिमनदी विस्फोटन, खडेरी, वन डढेलोजस्ता जलवायुजन्य समस्याबाट ठूलो क्षति भोगिरहेको बताइन्। साथै, जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय स्तरमा नेपालको सक्रिय भूमिका रहेको उल्लेख गरिन्।

उनले जलवायु परिवर्तन, शान्ति, बसाइँसराइ, खाद्य सुरक्षा र विपद् व्यवस्थापनमा यो संवादले अन्तर्राष्ट्रिय सहयोग र समाधानका अवसरहरू सिर्जना गर्ने आशा व्यक्त गरिन्।