
बैतडी, पाटन — नेकपा (माओवादी केन्द्र) ले जेठ २ गतेदेखि मध्यपहाडी लोकमार्ग अभियान सुरु गर्ने भएको छ। अभियानको शुभारम्भका लागि बैतडीको पाटन जाँदै गर्दा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कैलालीको चुरे गाउँपालिका, सहजपुरमा स्थानीयसँग भेटघाट गर्नुभएको छ।
भेटका क्रममा स्थानीयवासीहरूले मुख्य रूपमा खानेपानी र सिँचाइको समस्या उठाएका थिए। समस्याको समाधानका लागि पहल गर्ने प्रतिबद्धता अध्यक्ष प्रचण्डले जनाउनुभएको छ।
अध्यक्ष प्रचण्डले स्थानीय जनताको माओवादीप्रतिको आकर्षण उल्लेखनीय रहेको बताउँदै भन्नुभयो, “तराईको अभियानले माओवादीप्रति जनतामा एउटा नयाँ ऊर्जा जागेको छ। अबका दिन माओवादी, जनता र समग्रमा हाम्रो हुनेछन्।”












