
काठमाडौँ, ३१ वैशाख — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सगरमाथा संवाद जलवायु परिवर्तन, हिमाली पारिस्थितिकी र मानव जातिको भविष्यका विषयमा केन्द्रित हुने बताउँदै यस फोरममा जलवायु परिवर्तनका हालका अवस्थासम्बन्धी गम्भीर छलफल गरिने जानकारी दिनुभएको छ।
दक्षिण एशियाका लागि जलवायु अनुकूलन र सहनशीलता विषयक कार्यशालामा आज काठमाडौँमा बोल्दै उहाँले जलवायु परिवर्तन कुनै एक राष्ट्रको मात्र समस्या नभई विश्वव्यापी चुनौती भएकाले यससँग जुध्न साझा प्रतिबद्धता, सहकार्य र समन्वय अपरिहार्य रहेको स्पष्ट गर्नुभयो।
मन्त्री डा. राणाले भन्नुभयो, “यो साझा समस्यासँग जुध्न हाम्रो मात्र प्रयास पर्याप्त छैन। त्यसैले सबैको सामूहिक सहकार्यका लागि साझा प्लेटफर्म निर्माण गर्ने उद्देश्यले नेपालले सगरमाथा संवादको आयोजना गरेको हो। यो सबैका लागि साझा मञ्च हो।”
नेपालले पछिल्ला वर्षहरूमा तापक्रम वृद्धि, अनियमित वर्षा, बाढी, हिमताल विस्फोट, खडेरी र डढेलो जस्ता जलवायुजन्य विपत्तिको सामना गरिरहेको उल्लेख गर्दै मन्त्री राणाले यस्ता समस्याहरू सम्पूर्ण क्षेत्रकै साझा चुनौती भएकाले तिनको समाधानका लागि सगरमाथा संवाद विशेष महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो।
उहाँले थप भन्नुभयो, “नेपालले जलवायु परिवर्तनका कारण भइरहेको अकल्पनीय क्षतिको सामूहिक वकालत गर्न र अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु न्यायको पक्षमा उठाउँदै आएको आवाजलाई थप सशक्त बनाउन यो सम्मेलन प्रभावकारी हुनेछ।”
मन्त्री डा. राणाले यही शुक्रबारदेखि काठमाडौँमा सुरु हुने सगरमाथा संवाद अन्तर्राष्ट्रिय रूपमा नेपालको उपस्थिति बलियो बनाउने एक महत्त्वपूर्ण प्लेटफर्म भएको उल्लेख गर्दै यसमा क्षेत्रीय तथा विश्वव्यापी महत्वका जलवायु सम्बन्धी गम्भीर विषयवस्तुमा गहन छलफल हुने जानकारी दिनुभयो।
सो अवसरमा उहाँले नेपालले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन लागू गरेको, सम्बन्धित नीतिहरू तथा रणनीतिक कार्ययोजना निर्माण गरी कार्यान्वयनमा ल्याएको जानकारी गराउनुभयो। साथै, पेरिस सम्झौताको कार्यान्वयनमा नेपालको प्रतिबद्धता पुनः दोहोर्याउँदै हरित ऊर्जाको प्रवर्द्धन, विद्युतीय सवारीसाधनको प्रयोग, सामुदायिक वन विस्तार, जलाशय तथा प्राकृतिक सम्पदाको संरक्षण सम्बन्धी नीति अवलम्बन गरिएको पनि जानकारी दिनुभयो।











