बुद्ध जयन्ती विद्रोह, रूपान्तरण र शान्तिको प्रेरणा हो : प्रधानमन्त्री प्रचण्ड

-


     हिडन खबर    
     वैशाख २९ गते २०८२ मा प्रकाशित


काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुद्ध जयन्तीलाई धार्मिक वा सांस्कृतिक उत्सव मात्र नभई सामाजिक रूपान्तरण र शान्तिपूर्ण क्रान्तिको प्रेरणाको स्रोतको रूपमा लिनुपर्ने बताएका छन्।

गौतम बुद्धको २५६९औं जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले बौद्ध दर्शन आजको समाजमा पनि न्याय, समानता र समावेशीताको मार्गदर्शक बनेको उल्लेख गरेका छन्।

“बुद्धको शिक्षाले विविधतायुक्त नेपाली समाजमा राष्ट्र निर्माण र राष्ट्रिय एकता हासिल गर्न पहिचानको सम्मान आवश्यक छ भन्ने पाठ सिकाएको छ,” प्रधानमन्त्री प्रचण्डले भने।

उनले क्रान्ति र शान्ति परस्पर विरोधी नभई परिपूरक रहेको उल्लेख गर्दै समुन्नत, समावेशी र न्यायपूर्ण संघीय गणतन्त्र निर्माणमार्फत समाजवादी क्रान्तिको आधार तयार पार्न सबैलाई एकताबद्ध हुन आग्रह गरे।

प्रधानमन्त्रीको सन्देशमा गौतम बुद्धले जातीय, लैंगिक विभेद र अन्धविश्वासविरुद्ध उठाएको शान्तिपूर्ण विचार–क्रान्तिको पनि स्मरण गरिएको छ।