सगरमाथा संवादका लागि भारतद्वारा १५ विद्युतीय सवारीसाधन हस्तान्तरण

-


     हिडन खबर    
     वैशाख २८ गते २०८२ मा प्रकाशित


काठमाडौं — नेपाल सरकारले आयोजना गरेको ‘सगरमाथा संवाद’ कार्यक्रमको पहिलो संस्करणका लागि सहयोगस्वरूप भारत सरकारले १५ वटा विद्युतीय सवारीसाधन उपलब्ध गराएको छ।

नेपाल–भारत विकास साझेदारी अन्तर्गत उपलब्ध गराइएका ती गाडीहरू आज परराष्ट्र मन्त्रालयमा आयोजित विशेष समारोहका क्रममा नेपाल सरकारका परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले हस्तान्तरण गरेका हुन्।

समारोहमा मन्त्री डा. राणाले भारत सरकारप्रति आभार व्यक्त गर्दै सगरमाथा संवादजस्ता कार्यक्रमहरू जलवायु परिवर्तनजस्तो साझा चुनौतीको समाधानका लागि आपसी समन्वय र सामूहिक प्रयास आवश्यक रहेको बताइन्।

“जलवायु परिवर्तन नेपालको मात्र नभई यस क्षेत्रकै साझा समस्या हो। यस्तो संवादले समस्या पहिचानसहित समाधानको बाटो खोल्ने विश्वास लिएका छौं,” मन्त्री राणाले भनिन्।

उनका अनुसार यही मे १६ देखि १८ सम्म सञ्चालन हुने सगरमाथा संवादका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ र नेपाल सरकार अन्तर्राष्ट्रिय पाहुनाको स्वागतका लागि तयार छ।

भारतीय राजदूत श्रीवास्तवले नेपालको आर्थिक तथा सामाजिक विकासमा भारतको निरन्तर सहयोग रहने उल्लेख गर्दै सगरमाथा संवादका लागि सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे। उनले जलवायु परिवर्तनविरुद्धको प्रयासमा भारत नेपालसँग कंधा मिलाएर अगाडि बढ्न तयार रहेको स्पष्ट पारे।