गण्डकी कोटिहोममा एक हजारभन्दा बढी कन्या पूजन, ज्येष्ठ नागरिक सम्मान

-


     हिडन खबर    
     वैशाख २७ गते २०८२ मा प्रकाशित


भक्तजनको अपार उपस्थितिले महायज्ञ स्थल खचाखच

पोखरा, वैशाख २७ – पोखरामा जारी गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ शनिबार भक्तजनको अपार उपस्थितिका साथ भव्य रुपमा सम्पन्न भयो। देशभरिबाट आएका श्रद्धालुहरूको भीडले महायज्ञ स्थल पूरै भरिएको थियो, जसले व्यवस्थापनमा आयोजकलाई हम्मे-हम्मे पारे पनि सफलतापूर्वक सम्हालिएको थियो।

उक्त दिन ३ देखि ९ वर्ष उमेर समूहका एक हजारभन्दा बढी कन्या पूजनमा सहभागी गराइए। साथसाथै ७० वर्षभन्दा माथिका एक हजारभन्दा बढी ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो।

सांस्कृतिक कार्यक्रमअन्तर्गत लोकदोहोरी गायक पशुपति शर्मा, गायिका अस्मिता डल्लाकोटी र राधिका हमालको भजन प्रस्तुतीले वातावरण भक्तिमय बनाएको थियो।

महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तिले धर्म, संस्कार र सामाजिक चेतनाको सन्देश दिँदै सदाचार, सेवा र सद्भाव अपनाउन सबैलाई आग्रह गरे। उनका अनुसार महायज्ञले वातावरणीय शुद्धता, आत्मिक उन्नति र समाजमा सकारात्मक ऊर्जा फैलाएको छ।

कोटिहोम परिसरमा चौरासी पूजन, पार्थिव शिवलिङ्ग निर्माण, दीप प्रज्वलन, तुलादान, रुद्राभिषेक लगायतका विविध धार्मिक क्रियाकलाप जारी छन्।

यसै अवसरमा “सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी” शीर्षकमा राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिता हुने भएको छ। कक्षा ८ देखि १२ सम्मका विद्यार्थीलाई सहभागिता खुला गरिएको छ।

महायज्ञमा पं. दिनबन्धु पोखरेल, राधिका दासी, चैतन्यकृष्ण महाराजलगायतका प्रवचनकर्ता तथा भारतीय आचार्य प्रशान्त कृष्णको रामायण प्रवचनले भक्तजनलाई आध्यात्मिक रूपमा अभिभूत बनाएका छन्।

गण्डकी प्रदेश कांग्रेस सभापति शुक्रराज शर्माले कोटिहोमलाई कलियुगको महान कार्यको रूपमा मूल्याङ्कन गर्दै यसले विश्व शान्तिको सन्देश दिएको बताए।
कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुनेछ।