
भारतमा कोरोना भाइरस सङ्क्रमण फेरि बढ्न थालेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा थप २,१८३ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ।
उक्त अवधिमा थप २१४ जनाको कोभिड-१९ केै कारण मृत्यु भएको तथ्याङ्कले देखाउँछ।
पछिल्लो २४ घण्टामा भारतमा २६१,४४० कोभिड परीक्षण गरिएको प्रेस इन्फरमेसन ब्युरोले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
भारतमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ११,५४२ छ।
मृत्यु सङ्ख्यामा ६२ जनाको विवरण पछिल्लो तथ्याङ्कमा अद्यावधिक गरिएको भए पनि त्यसमा ठूलो वृद्धि देखिएको एनडीभटीभीको वेबसाइटमा प्रकाशित समाचारमा उल्लेख छ।
गत ज्यानुअरीमा उच्च विन्दुमा पुगेको कोभिड सङ्क्रमण दर निरन्तर ओरालो लाग्ने क्रममा थियो।
तर पछिल्लो तथ्याङ्कले भने त्यसमा केही परिवर्तन आउन लागेको सङ्केत गरेको जनाइएको छ।
भारतको राजधानी नयाँ दिल्लीमा पछिल्लो २४ घण्टामा ५१७ सङ्क्रमित थपिनु र उत्तर प्रदेशमा पनि केही वृद्धि देखिनु नेपालका लागि महत्त्वपूर्ण सूचक रहेको विज्ञहरू बताउँछन् ।
नेपालको पछिल्लो तथ्याङ्कले के भन्छ ?
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ४,६५१ जनाको नमुना परीक्षण गर्दा थप १० जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ। त्यस्तै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३५० छ।
त्यस्तै खोप अभियान सुरु भएपश्चात् नेपालमा ४ करोड ६ लाखभन्दा बढी मात्रा खोप लगाइसकिएको सरकारी तथ्याङ्कले देखाउँछ।
लक्षित जनसङ्ख्याको ९४ प्रतिशतले कम्तीमा एक मात्रा लगाएको र ८२.२ प्रतिशतले पूर्ण मात्रा लगाएको बताइएको छ।
नेपालको तयारी के छ ?
नेपालमा देखा परेका यस अगाडिका तीन वटै लहर भारतमा नयाँ लहर सुरु भएको केही साता पछि सुरु भएको अधिकारीहरू बताउँछन् ।
पछिल्लो समय कोभिडको तेस्रो लहर कम भएसँगै देशैभर कडा प्रतिबन्धात्मक व्यवस्थाहरू हटाइएको छ र सार्वजनिक स्थलहरूमा भिडभाड बढेको छ।
तर स्वास्थ्य मन्त्रालयले सङ्क्रमण दर घटेको भए पनि जोखिम कम नभएको बताउँदै आइरहेको छ ।
मन्त्रालयका सह-प्रवक्ता डाक्टर समीर कुमार अधिकारी छिमेकी मुलुकहरूमा सङ्क्रमण बढ्दै जानुको अर्थ नेपालका लागि पनि ठूलो चेतावनी रहेको बताउँछन्।
कोभिडको तेस्रो लहर सुस्ताएको अवस्थामा नेपाल-भारतबीच आवागमनको अवस्था पनि महामारी अघिकै अवस्थामा पु्ग्ने क्रममा रहेको बताइएको छ।
नेपालबाट विभिन्न प्रयोजनका लागि भारत जाने र भारतबाट नेपाल आउनेहरूको सङ्ख्यामा व्यापक वृद्धि देखिन थालेको अधिकारीहरू बताउँछन्।
यस्तो अवस्थामा विभिन्न सिमानाकाहरूमा विगतमा स्थापना गरिएका हेल्थ डेस्क, त्यहाँ राखिएका स्वास्थ्यकर्मीहरू सबै पूर्ण रूपमा फेरि पनि सञ्चालनमा ल्याउने गरी आवश्यक समन्वय गरिरहेको अधिकारी बताउँछन्।
त्यसबाहेक परीक्षणको दायरा पनि बढाउनुपर्ने देखिएको सरकारी भनाइ छ। बिबिसीबाट









