प्रचण्डको घोषणा: अब कांग्रेस-एमालेसँग होइन, माओवादी आफ्नै बाटोमा अघि बढ्छ

-


     हिडन खबर    
     वैशाख २७ गते २०८२ मा प्रकाशित


पाँचथर, वैशाख २७ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब माओवादी पार्टी कांग्रेस र एमालेसँग नजोडिने स्पष्ट घोषणा गर्नुभएको छ। शुक्रबार फिदिम बजारमा माओवादी केन्द्र पाँचथरद्वारा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आगामी दिनमा पार्टी आफ्नै खुट्टामा उभिएर अघि बढ्ने बताउनुभयो।

उहाँले माओवादी नेतृत्वमा सुरु भएका मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्गउत्तर–दक्षिण करिडोर जस्ता ठूला पूर्वाधार योजनाहरू जनहितका ऐतिहासिक कदम भएको उल्लेख गर्नुभयो।

प्रचण्डले पछिल्लो कार्यकालमा आफूले सामाजिक न्याय, सुशासनआर्थिक सुधारका अभियान अघि बढाउँदा बिचौलिया र दलालहरू नाखुश भएर सरकार ढालिएको आरोप लगाउनुभयो। “बैंक ब्याज घटाउने, प्रणाली सुधार गर्ने प्रयासमा हामी अघि बढ्यौं, तर त्यो कुरा दलालहरूलाई चित्त बुझेन,” उहाँले भन्नुभयो।

‘जनतासँग माओवादी’ अभियान जनताको अभियान भएको दाबी गर्दै प्रचण्डले अब पार्टी एक्लै चुनावमा जाने स्पष्ट संकेत दिनुभयो। स्थानीय तहदेखि पत्रकार महासंघसम्मका पछिल्ला निर्वाचनमा माओवादीले ल्याएको नतिजालाई जनविश्वासको प्रमाण भन्दै उहाँले जनमुखी कार्यलाई निरन्तरता दिइने बताउनुभयो।