स्वतन्त्र प्रेस र सुसूचित नागरिक प्रजातन्त्रका पहरेदार हुन् : परराष्ट्रमन्त्री डा. आरजु राणा

-


     हिडन खबर    
     वैशाख २७ गते २०८२ मा प्रकाशित


ललितपुर, वैशाख २८ — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले स्वतन्त्र प्रेस र सुसूचित नागरिक नै प्रजातन्त्रका वास्तविक पहरेदार भएको बताउनुभएको छ।

नेपाल प्रेस युनियनद्वारा ललितपुरमा आयोजित ‘लोमान्थाङ इन्टरनेसनल मिडिया समिट’लाई आज सम्बोधन गर्दै मन्त्री राणाले भन्नुभयो, “स्वतन्त्र प्रेसले नै प्रजातान्त्रिक शासन प्रणालीको पहरेदारी गर्न सक्छ, त्यसैले प्रेस स्वतन्त्रता विना प्रजातन्त्रको कल्पना गर्न सकिँदैन।”

उहाँले वर्तमान समयमा अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता झनै आवश्यक र महत्वपूर्ण रहेको उल्लेख गर्दै लोकतान्त्रिक, समावेशी र समुन्नत समाज निर्माणको आधार यही भएको बताउनुभयो। “सरकार सधैं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा छ,” उहाँले भन्नुभयो, “नेपालको संविधानले प्रस्तावनादेखि नै प्रेस स्वतन्त्रताको व्यवस्था गरेर यसको गहिरो प्रतिबद्धता प्रस्ट पारेको छ।”

मन्त्री डा. राणाले वर्तमान लोकतान्त्रिक प्रणाली विविध चुनौतीहरूको सामना गरिरहेको उल्लेख गर्दै जनतामा लोकतन्त्रप्रतिको आशा जगाउन प्रेसको भूमिका अझ बढी महत्त्वपूर्ण बनेको बताउनुभयो। फरक मतको सम्मानमा गिरावट आइरहेका बेला पत्रकारिताले सत्यको संरक्षण गर्दै वैकल्पिक आवाजलाई मञ्च दिने काम गर्नुपर्ने उहाँको भनाइ थियो।

उहाँले गलत सूचना (मिसइन्फरमेसन) र भ्रमपूर्ण जानकारी (डिसइन्फरमेसन) को बाढीले नेपालमा मात्र होइन, विश्वभर नकारात्मकता फैलाइरहेको उल्लेख गर्दै यस्ता प्रवृत्तिविरुद्ध मिडियाकर्मीहरू आफैं अग्रसर हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। “गलत सूचनाले प्रजातान्त्रिक प्रणालीमै आघात पुर्याउँछ, त्यसैले यसको रोकथाममा सञ्चार क्षेत्र स्वयं जिम्मेवार बन्नुपर्छ,” उहाँले जोड दिनुभयो।

जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको अकल्पनीय क्षतिको सन्दर्भमा बोल्दै मन्त्री राणाले यही विषयलाई समिटको मुख्य थिम बनाएर कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिनुभयो। उहाँले यसै सन्दर्भमा सरकारद्वारा आयोजित ‘सगरमाथा संवाद’ कार्यक्रमको जानकारी दिँदै जलवायु न्यायको विषयलाई अन्तर्राष्ट्रिय स्तरमा बलियो बनाउने प्रयास भइरहेको उल्लेख गर्नुभयो।

“नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्च र अदालतहरूमा आफ्नो पीडा प्रस्तुत गर्दै जलवायु न्यायको माग गरिरहेको छ,” मन्त्री राणाले भन्नुभयो, “यो आवाज विश्वव्यापी बनाउन मिडिया समिटमा सहभागी अन्तर्राष्ट्रिय पत्रकार मित्रहरूलाई हार्दिक अनुरोध गर्दछु।”