२५ वर्षपछि ‘जार’मा भनेजस्तै काम गर्ने अवसर पाएकी छु : झुमा लिम्बूझुमा लिम्बू भन्छिन्— “मैले कल्पना गरेको संगीत अन्ततः ‘जार’मा साकार भयो”

-


     हिडन खबर    
     वैशाख २५ गते २०८२ मा प्रकाशित


काठमाडौं ।
गायिका तथा संगीतकार झुमा लिम्बूले चलचित्र जार मा आफूले चाहेजस्तै खुलेर काम गर्न पाएको बताएकी छन्। करिब २५ वर्षको सांगीतिक यात्रापछि यस्तो अवसर पाएकोमा उनी सन्तुष्ट देखिन्छिन्।

“संगीत बनाउँदै जाँदा, काम गर्दै जाँदा, मैले भनेजस्तै प्लेटफर्म चाहिएको थियो। जार ले त्यो अवसर दियो,” झुमा भन्छिन्, “मैले गरिरहेको शैलीको संगीतमा काम गर्नुपर्छ भन्ने सोच भएका व्यक्तिहरू भेटिएपछि मैले ‘नाइँ’ भन्नै परेन।”

उनका अनुसार, २५ वर्षको करियरमा पहिलोपटक जार मा भनेजस्तो काम गर्न पाउँदा चित्त बुझेको छ। यद्यपि, सबै कुरा १०० प्रतिशत जस्तो चाहिएको थिएन।
“पूर्ण सन्तुष्टि त कहिल्यै हुँदैन, तर जार मा केही हदसम्म आफूले चाहेको जस्तो काम गर्न पाउँदा खुशी लागेको छ,” उनले भनिन्।

चलचित्रको कथा लिम्बू समुदायको परिवेशमा आधारित भएकाले उनले आफ्नो मौलिक संगीत प्रस्तुत गर्ने राम्रो अवसर पाएको उल्लेख गरिन्।
जार को प्रिमियरमा धेरैले यसको संगीतको खुलेर प्रशंसा गरेका थिए। झुमा लिम्बूले पूर्वी पहाडी जिल्लामा बसोबास गर्ने लिम्बू समुदायको संस्कृति, लय र ताल समेटेर गीतहरू तयार पारेकी छन्।

चलचित्रमा झुमाले गीत सिर्जना र गायन दुवैको जिम्मेवारी सम्हालेकी छन्। पात्रहरूको यात्रासँगै अघि बढ्ने यी गीतहरूले कथालाई थप प्रभावशाली बनाएको बताइएको छ।

१८०० को दशकको वास्तविक घटनामा आधारित जार यही शुक्रबार (वैशाख २६ गते) देशभर प्रदर्शनमा आउँदैछ। सिनेमा साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित छ, जसको निर्देशन फुर्वा छिरिङ लामाले गरेका हुन्।

फेरि टेल पिक्चर्सको ब्यानरमा बनेको जार सामाजिक विषयमा आधारित भए पनि पूर्ण मनोरञ्जन प्याकेज भएको निर्देशक फुर्वा लामाको दाबी छ। उनले दर्शकको मन जित्नेमा आफू विश्वस्त रहेको बताए।

चलचित्रमा सौगात मल्ल, अनुपविक्रम शाही, गीताञ्जली थापा लगायतको मुख्य भूमिका रहेको छ। होप रिल्स, एलए सेभेन सर्ट्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण गरिएको सिनेमा सिक्किममा छायांकन गरिएको हो।

चलचित्रका कार्यकारी निर्माता त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा रहेका छन्। सिनेमाको छायांकन सरवानन इलावार्सुले गरेका हुन् भने सम्पादन अखिलेश राईको रहेको छ। संगीत झुमा लिम्बू र गंगा थापाले तयार पारेका हुन्।

नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउने यो चलचित्र नेपालमा एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्ने जानकारी निर्माण टिमले दिएको छ।