धार्मिक प्रवचन आत्मसात् गर्दै समाजलाई सत्यको बाटोमा लैजाऔं : उपप्रधानमन्त्री सिंह

-


     हिडन खबर    
     वैशाख २३ गते २०८२ मा प्रकाशित


काठमाडौं, वैशाख २३ – उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजलाई सत्यको बाटोमा लैजान प्रवचन र ज्ञानलाई आत्मसात् गर्नुपर्ने बताएका छन्। रामकोटस्थित निर्माणाधीन बद्रीनारायण धामको एक कार्यक्रममा बोल्दै सिंहले “एउटा कानले सुनेर अर्को कानले उडाउने” प्रवृत्तिको अन्त्य गर्न आग्रह गरे।

धार्मिक कार्यक्रमहरूले असत्यबाट सत्यतर्फ लैजान सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्दै सिंहले सेवाभावले समर्पित व्यक्तिहरूको मूल्यांकन हुनुपर्ने बताए। उनले अधिकारसँगै दायित्वबोधको आवश्यकता पनि औंल्याए।

उपप्रधानमन्त्री सिंहले बद्रीनारायण धामको पूर्वाधार विकासमा सरकारको निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउँदै सबैलाई आ–आफ्नो ठाउँबाट साथ दिन आह्वान गरे। धाम निर्माण समितिका अध्यक्ष दीनबन्धु पोखरेलले उक्त स्थललाई धार्मिक पर्यटनको गन्तव्य बनाउन लक्ष्य रहेको जानकारी दिए।