बजेट छलफलका लागि खुमलटारमा अर्थमन्त्री र माओवादी अध्यक्षबीच भेट

-


     हिडन खबर    
     वैशाख २३ गते २०८२ मा प्रकाशित


काठमाडौं, २३ वैशाख
नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेल र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज खुमलटारस्थित अध्यक्ष निवासमा भेटवार्ता भएको छ।

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट निर्माणको सन्दर्भमा अर्थमन्त्री पौडेलले प्रमुख विपक्षी दलका नेतासँग सल्लाह–विमर्शको प्रक्रिया अघि बढाएका छन्। सोहीक्रममा आज अध्यक्ष दाहालसँगको भेटमा समावेशी, सन्तुलित र आर्थिक पुनरुत्थानमुखी बजेट निर्माणका विषयमा विचार–विमर्श भएको स्रोतले जनाएको छ।

भेटमा पूर्वप्रधानमन्त्री दाहालले हालको आर्थिक अवस्था, कृषि, ऊर्जा, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा लगानी अभिवृद्धि गर्नुपर्ने सुझाव दिएका थिए। उनले बजेटले जनताको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने खालका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका थिए।

यसअघि अर्थमन्त्री पौडेलले अन्य दलका नेताहरूसँग पनि बजेट सुझाव लिन थालेका छन्। बजेट तर्जुमा प्रक्रियामा सबै पक्षको सहभागिता सुनिश्चित गर्दै समन्वयात्मक र दीर्घकालीन आर्थिक सुधारमुखी दृष्टिकोणमा केन्द्रित हुने अर्थ मन्त्रालयको तयारी छ।

सरकारले आगामी जेठ महिनाको अन्तिम साता बजेट सार्वजनिक गर्ने तयारी गरिरहेको छ।