
काठमाडौं – इन्द्रबहादुर राईको चर्चित कथा ‘जार’मा आधारित फिल्म ‘जार’ यही वैशाख २६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ। निर्देशक फुर्वा छिरिङ लामाको निर्देशनमा तयार भएको यो फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही र गीताञ्जली थापा प्रमुख भूमिकामा छन्।
सौगात मल्लले झण्डै दुई दशकअगाडि ‘जार’ कथा पढेपछि नै यसमा काम गर्ने चाहना बनाएका थिए। उनले २७ वर्षअघि गुरुकुलमा ‘जार’को नाटक हेरे पनि त्यसमा अभिनय गर्ने मौका पाएका थिएनन्। तर आज उनले फिल्ममार्फत त्यो सपना पूरा भएको बताए। “कुनै बेला नाटकमा काम गर्न नपाएको अपूर्णता अब फिल्ममार्फत पूरा भयो,” सौगातले भने।
२२५ वर्षअगाडिको कथामा आधारित यो फिल्ममा सौगातले अनुपविक्रम शाहीको पत्नी बनेकी गीताञ्जली थापालाई भगाउने चुनौतीपूर्ण पात्र निभाएका छन्। “अर्काको श्रीमती भगाउने त्यो चरित्र गहिरो र डरलाग्दो थियो,” उनले भने।
निर्देशक लामाका अनुसार ‘जार’ सामाजिक सन्देश बोकेको भए पनि मनोरञ्जनको सम्पूर्ण पक्ष समेटिएको कम्प्लिट प्याकेज फिल्म हो। फिल्मको छायांकन सिक्किममा गरिएको हो।
‘जार’ नेपालसहित भारत र अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शन हुनेछ। नेपालमा यसको वितरण एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले गर्नेछन्।









