
काठमाडौं, वैशाख २२ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीति तथा कार्यक्रमलाई औपचारिकता मात्र पूरा गर्ने कर्मकाण्डी अभ्यासमा सीमित बनाइएको आरोप लगाएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रममाथि संसदमा धारणा राख्दै अध्यक्ष प्रचण्डले गत वर्षको अभ्यासले लोकतान्त्रिक छलफललाई प्राथमिकता दिएको भए पनि यस वर्ष सरकार आफैंले त्यो प्रक्रिया भत्काएको बताए।
“गत वर्ष मैले संसदकै सुझावलाई ध्यानमा राखेर नीति तथा कार्यक्रमको औपचारिक परम्परा अन्त्य गर्न प्रयास गरेको थिएँ,” उनले भने, “तर यसपालि सरकारको निरंकुश चरित्र देखिएको छ। दुई तिहाइको बहुमतको दम्भमा सरकार संसदको भूमिका कमजोर पार्दैछ।”
उनले नीति तथा कार्यक्रम समयमै सार्वजनिक गरी सुझाव समेट्ने उद्देश्यले बजेटको नयाँ कार्यतालिका ल्याइएको भए पनि सरकारले त्यसलाई बेवास्ता गरेको आरोप लगाए।
“सरकारसँग संख्याको घमण्ड छ। त्यसैले नीति तथा कार्यक्रम फेरि कर्मकाण्डी शैलीमै प्रस्तुत गरिएको छ,” अध्यक्ष प्रचण्डले भने, “म यसलाई सच्याउन माग गर्छु।”









