
पोखरा — ऐतिहासिक श्री गण्डकी शतकुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञ पोखरामा सुरु भएको छ। शुक्रबार १२ जना बालकको सामूहिक व्रतबन्ध सम्पन्न भएको छ भने सो अवसरमा सहभागी सबैलाई सम्मान गरिएको छ।
महायज्ञअन्तर्गत आजबाटै एक सय हवन कुण्डमा विधिपूर्वक हवन सुरु भएको छ, जुन जेठ २६ गतेसम्म चल्नेछ। हरेक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म र दिउँसो १:१५ देखि ४ बजेसम्म हवन गरिनेछ।
भारतका प्रख्यात कथा वाचक प्रशान्त कृष्ण परांकुशले राम कथा वाचन सुरु गरेका छन्, जुन नौ दिनसम्म चल्नेछ। यस्तै, शनिबारदेखि खुला भजन चुट्का प्रतियोगिता पनि सुरु हुँदैछ, जसमा करिब ३०० समूहको सहभागिता रहनेछ। प्रतियोगितामा प्रथम हुनेलाई ३ लाख ५५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
कार्यक्रममा हालसम्म एक लाखभन्दा बढी भक्तजन सहभागी भइसकेका छन्। सबैभन्दा ठूलो दान मुस्ताङका मोहन सिंह लालचनले दुई लाख ५५ हजार रुपैयाँ दिएका छन्।
कोटीहोम महायज्ञमा व्रतबन्ध, चौरासी पूजा, तुलादान, रामनाम लेखन, शिवलिङ्ग स्थापना, रक्तदान, ज्येष्ठ नागरिक सम्मान, शालिग्राम पूजा, र विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।










