
काठमाडौं — नेपाली चलचित्र ‘शिवांश: च्याप्टर १’ को औपचारिक निर्माण घोषणा गरिएको छ। बुधबार एक कार्यक्रममार्फत फस्टलुक पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले चलचित्रको घोषणा गरेको हो।
अञ्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण हुने यो चलचित्र सन्तोष कुमार आत्रेयको निर्देशनमा बन्नेछ। यो उनको डेब्यु निर्देशकीय प्रस्तुति हो।
चलचित्रमा प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने मुख्य भूमिकामा प्रस्तुत हुनेछन्। यस्तै, विकास जोशी, विमला लिम्बु, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टिका निरौला लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ।
चलचित्रको कथा निर्माता अञ्जान केसीले लेखेका हुन् भने पटकथा बारत लिम्बुले तयार पारेका छन्। सह-निर्माताका रूपमा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन्।
सार्वजनिक पोस्टरमा प्रमुख कलाकार प्रवीण खतिवडा फलामको साङ्लोमा बाँधिएको अवस्थामा देखिन्छन्। अनुहारको आधा भाग मात्र देखिने उक्त दृश्यले उनी कुनै शक्तिशाली विरोधीको नियन्त्रणमा परेका छन् भन्ने संकेत गर्छ। पोस्टरमा एक व्यक्तिको अगाडि सिंगो गाउँ जलेको देखिन्छ, जसले चलचित्र शक्ति संघर्षमा आधारित रहेको आभास दिन्छ। यद्यपि, कथावस्तुको थप विवरण भने सार्वजनिक गरिएको छैन।
चलचित्रमा संगीत न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको रहनेछ। गीत लेखनमा राजनराज शिवाकोटी र विप्लव प्रतीक छन् भने स्वर राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीले दिनेछन्।
द्वन्द्व निर्देशन मिलन श्रेष्ठले, नृत्य निर्देशन विक्रम चोहानले र सिनेमाटोग्राफी सरद महतोले गर्नेछन्। चलचित्रका मुख्य सहायक निर्देशक बारत लिम्बु हुन्। स्क्रिप्ट डक्टरको रूपमा सुलक्षण भारती र कार्यकारी निर्माता सम्भू थापा रहेका छन्।
भीएफएक्स डाइरेक्टर तथा सुपरभाइजरमा विराज खड्का, भीएफएक्स प्रोड्युसर आदेश सुब्बा रहनेछन्। कस्ट्युम डिजाइन कमल मिश्रले, मेकअप आर्टिस्ट तुलसा लिम्बूले, पोस्टर फोटोग्राफी युवाहाङ राईले, आर्ट डाइरेक्टर तथा प्रोडक्सन डिजाइनर प्रतीक चौधरीले गर्नेछन्। प्रोडक्सन म्यानेजरका रूपमा मिलन मानन्धर रहनेछन्।
‘शिवांश: च्याप्टर १’ आगामी असोज २४ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ। चलचित्रको पोस्ट–प्रोडक्सन कार्य चलचित्र चौतारीले गर्नेछ भने वितरणको जिम्मा डिजिटल सिनेमा नेपाल (DCN) ले लिएको छ।









