शालग्राम संरक्षण गर्न बागलुङ कुँडुले फेदीमाशालग्राम महोत्सव सुरु

-


     हिडन खबर    
     वैशाख १७ गते २०८२ मा प्रकाशित


बागलुङ । बागलुङ नगरपालिका–४ कुँडुले फेदीस्थित शालग्राम संग्रालयमा श्री रंगवैकटेश् मुक्तिनारायण मन्दिरको ब्रम्होत्सवको अवसर पारेर शालग्राम महोत्सव शुरु भएको छ । 

मन्दिरको ३८ औँ ब्रम्होत्सवको अवसर पारेर बैशाख १७ गते देखि २१ गतेसम्म शालग्राम महोत्सवमा भानुभक्तकाे
भानुभक्त रामायण बाचन गर्ने कार्यक्रम राखिएको मन्दिरका अध्यक्ष तथा शालग्राम संग्राहलयका परिकल्पनाकार स्वामी ऋषि प्रपन्नाचार्यले बताए ।

महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले धर्म संस्कृतिको रक्षा र शालग्राम शिलाको संरक्षणका लागि सबै सरोकारवालाको ध्यान जानुपर्ने बताए ।

दिनहुँको कालिगण्डकी दोहनले शालग्राम शिला लोप हुने खतरा बढेको चर्चा गर्दै शालग्राम संरक्षण गरी जिल्लालाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा चिनाउनका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता उहाँले जनाए । 

बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त श्रेष्ठले बागलुङ काे कुडुलेमा रहेको शालग्राम संग्रहालय धार्मिक पर्यटकीय केन्द्र बन्दै गएको कारण यहाँ स्वदेशी बिदेशी धार्मिक पर्यटक आउन शुरू भएको बताए ।यतिबेला बिद्यालयमा पढाइने पाठ्यक्रममा नैतिक शिक्षा र संस्कृत शिक्षा नभएको कारण बालबालिका बिद्यार्थीमा नैतिक शिक्षा कमजोर भएको हुदा यसलाई अध्यापन गराउन जरुरी रहेको नगर प्रमुख श्रेष्ठले बताए ।

महोत्सव अन्तर्गत दैनिक पाठ पारायण, रामायण प्रवचन, रामायण वाचन, शालग्रामको महत्वबारे चर्चा परिचर्चा, यज्ञ हवन, विद्धान गुरुजनहरूबाट प्रवचन लगायतका कार्यक्रम रहेको स्वामी ऋषि प्रपन्नाचार्यले बताए । उहाँका अनुसार शालग्राम शिला र शालग्राम पाईने एकमात्र नदी कालिगण्डकीको महत्त्वबारे पनि चर्चा हुने छ । महोत्सव अवधिभर भारतको अयोध्यादेखि आउनुभएका श्री १ हजार ८ स्वामी बालकृष्णाचार्य लगायतले रामायण प्रवचन गर्ने कार्यक्रम रहेको छ ।