
स्याङ्जा – उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले निस्वार्थ सेवाभाव र समाजको हितनै सच्चा राजनीतिको धर्म भएको बताएका छन्।
बुधबार स्याङ्जामा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा बोल्दै उनले राजनीतिमा सेवा भावले काम गर्नु समाज उन्नतिको आधार हुने बताए।
“धर्मले समाजलाई गर्न हुने र नहुने कुरा छुट्याएर अघि बढ्न सिकाएको छ,” सिंहले भने, “धर्म व्यापार, उद्योग, राजनीति सबै क्षेत्रमा लागू हुन्छ।”
महायज्ञबाट भक्तजनका लागि धर्मशाला निर्माणको उद्देश्य रहेको जानकारी दिँदै उनले मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।
त्यस अवसरमा उनले २०४२ सालको सत्याग्रह प्रचारप्रसारको क्रममा स्याङ्जा आएको पुरानो सम्झना पनि गरे। स्याङ्जाको पूर्वाधार विकासमा सबैसँग समन्वय गरी काम गर्ने प्रतिवद्धता उनले दोहोर्याए।









