
कञ्चनपुर, १७ वैशाख — नेकपा (माओवादी केन्द्र) बेलौरी नगर कमिटीको आयोजनामा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरको पुनर्वास नगरपालिका–५ स्थित शोभा ताल प्राङ्गणमा सहिद तथा बेपत्ता परिवारहरूसँग भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गर्नुभएको छ।
कार्यक्रमका क्रममा अध्यक्ष प्रचण्डले जनयुद्धका क्रममा अमूल्य बलिदान दिएका ३८ जना सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनीहरूको बलिदान सदा स्मरणीय रहने बताएका छन्। उनले सहिद परिवारप्रति सम्मान प्रकट गर्दै राज्य र पार्टी दुबै तर्फबाट न्याय, सम्मान र समावेशीताको ग्यारेन्टीका लागि निरन्तर प्रतिबद्ध रहने उल्लेख गरे।
सहिद परिवारका सदस्यहरूसँग आत्मीय संवाद गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धको ऐतिहासिक योगदानलाई संस्थागत ढंगले सम्मान गर्नुपर्नेमा जोड दिँदै वर्तमान राजनीतिक परिवर्तन सम्भव भएको मूल जड जनताको बलिदान रहेको स्पष्ट पारे।
कार्यक्रममा माओवादी केन्द्रका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।














