सौगात मल्ल र अनुपविक्रम शाहीको ‘जार’ वर्ल्ड प्रिमियरका लागि सिक्किममा, गीताञ्जली थापा पनि मुख्य भूमिकामा

-


     हिडन खबर    
     वैशाख १६ गते २०८२ मा प्रकाशित


काठमाडौं
साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित बहुप्रतीक्षित नेपाली फिल्म ‘जार’ को वर्ल्ड प्रिमियर यही वैशाख २६ (मे ९) मा सिक्किमको राजधानी गान्तोकमा हुँदैछ।

प्रिमियरमा सहभागी हुन फिल्मका निर्देशक फुर्वा छिरिङ लामा, कार्यकारी निर्माता त्रिलोचन पाण्डे, अभिनेता सौगात मल्ल, अनुपविक्रम शाही, तथा संगीतकार झुमा लिम्बु मंगलबार बिहान सिक्किम प्रस्थान गरेका हुन्।

फिल्मको पहिलो सार्वजनिक प्रदर्शन भव्य रूपमा सम्पन्न हुने तयारी छ। निर्देशक लामाका अनुसार कार्यक्रममा कला, साहित्य, राजनीति, व्यवसाय र समाजसेवामा सक्रिय विशिष्ट व्यक्तिहरूको उपस्थिति रहनेछ।

सिक्किमपछि ‘जार’ को दोस्रो प्रिमियर मे ३ मा भारतको सिलिगुडीमा हुनेछ, जहाँ स्थानीय दर्शकसँग साक्षात्कार गर्दै टिमले फिल्मप्रतिको प्रतिक्रिया लिनेछ। त्यसपछि दार्जिलिङमा पनि प्रचारात्मक कार्यक्रम आयोजना गरिनेछ।

फिल्ममा सौगात र अनुपविक्रमसँगै भारतीय राष्ट्रिय फिल्म पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापाले प्रमुख भूमिका निभाएकी छन्। फिल्मको छायांकन सरवानन इलावार्सुले गरेका हुन् भने सम्पादन अखिलेश राईले गरेका छन्।

‘जार’ होप रिल्स, एलए सेभेन सर्ट्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको हो। कार्यकारी निर्मातामा नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा रहेका छन्।