
कास्की, साउन १६
लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ के नेपाल अन्तर्गतको लायन्स क्लब अफ पोखरा समृद्धिको समन्वय तथा नरविच एण्ड ब्ल्याकहिथ हाई स्कुल टोलीको सहयोगमा पोखरा महानगरपालिका–२६ जलधारेस्थित श्री अमरज्योति गाउँफर्क माध्यमिक विद्यालयमा १० हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण कार्य सुरु गरिएको छ।
करिब रु. २ लाख २५ हजारको लागतमा निर्माण हुन लागेको ‘ड्रिङ्किङ वाटर प्रोजेक्ट–२०२६’ ले विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई स्वच्छ र सुरक्षित खानेपानीको पहुँच सुनिश्चित गर्ने अपेक्षा गरिएको छ। परियोजनाले विद्यालयको खानेपानी व्यवस्थापनलाई दिगो बनाउनुका साथै विद्यार्थीको स्वास्थ्य, सरसफाइ र शैक्षिक वातावरण सुधारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
परियोजनाको शुभारम्भ कार्यक्रममा लायन्स क्लब अफ पोखरा समृद्धिकी अध्यक्ष लायन सीमा कोइरालासहित क्लबका पदाधिकारी, सदस्य, सहयोगदाता तथा स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो।
लायन्स क्लस्टर चिफ लायन भीमप्रसाद सुवेदीले शिक्षा र स्वास्थ्यसँग जोडिएका यस्ता सेवामूलक कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिइने बताए।
विद्यालयमा निर्माण हुन लागेको उक्त खानेपानी ट्याङ्कीले विद्यार्थीलाई स्वच्छ खानेपानी उपलब्ध गराउनुका साथै गुणस्तरीय शिक्षाका लागि आवश्यक आधारभूत पूर्वाधार सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।












