रोटरी क्लब अफ महाराजगञ्जद्वारा वृक्षारोपण, हरित वातावरण निर्माणमा जोड

-


     हिड्न खबरदाता     
     श्रावण १७ गते २०८३ मा प्रकाशित


काठमाडौं, साउन १७ । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ अन्तर्गत सञ्चालन गरिएको ‘एक लाख वृक्षारोपण अभियान’ तथा विशेष वातावरण सप्ताह (साउन १० देखि १६ गते) को समापन अवसरमा रोटरी क्लब अफ महाराजगञ्जले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

क्लबले पृथ्वीनारायण माध्यमिक विद्यालय परिसरमा विभिन्न प्रजातिका बिरुवा रोप्दै वातावरण संरक्षण र हरियाली प्रवर्द्धनमा योगदान पुर्‍याएको हो। कार्यक्रममा अम्बा, कागती, एभोकाडो, रुद्राक्ष, कपूर, धुपीलगायत विभिन्न प्रजातिका फलफूल तथा वनस्पतिका बिरुवा रोपिएका थिए।

कार्यक्रममा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर रोटेरियन विष्णुबहादुर कार्कीको विशेष प्रेरणा र नेतृत्व रहेको क्लबले जनाएको छ। त्यस्तै असिस्टेन्ट गभर्नर रोटेरियन सचिन अवालेको सक्रिय सहभागिता तथा निरन्तर मार्गदर्शनले कार्यक्रमलाई थप प्रभावकारी बनाएको बताइएको छ।

वृक्षारोपणका लागि आवश्यक बिरुवा उपलब्ध गराई सहयोग पुर्‍याउने ग्रीन भ्याली ग्रीन नेपाल, रोटेरियन भुवन श्रेष्ठ, छिरिङ तामाङ, इन्जिनियर कृष्ण गुरुङ तथा प्रतिमा गुरुङप्रति क्लबले आभार व्यक्त गरेको छ।

कार्यक्रम सफल बनाउन पृथ्वीनारायण माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, कर्मचारी, विद्यार्थी तथा सहयोगी सबैको महत्वपूर्ण भूमिका रहेको क्लबका अध्यक्ष निर्मल सापकोटाले बताए। विद्यालय परिवारले रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाह गर्ने प्रतिबद्धता जनाएको छ।

कार्यक्रममा रोटरी क्लब अफ महाराजगञ्जका चार्टर सदस्य, पूर्व अध्यक्षहरू, कार्यसमिति पदाधिकारी, रोटेरियन सदस्य, रोटरी परिवारका बालबालिका तथा नेपाल प्रहरीका सुरक्षाकर्मीहरूको समेत सक्रिय सहभागिता रहेको थियो।

क्लबका अध्यक्ष निर्मल सापकोटाले वृक्षारोपण केवल बिरुवा रोप्ने कार्य मात्र नभई वातावरण संरक्षण, सामाजिक जिम्मेवारी र भावी पुस्ताका लागि हरित भविष्य निर्माण गर्ने अभियान भएको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए।