
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सधैं आतंकवादको विपक्षमा रहेको र जुनसुकै प्रकार र प्रकृतिको आतंकवादलाई कडा शब्दमा निन्दा गर्ने बताउनुभएको छ।
भारतको काश्मीरस्थित पहलगाममा भएको आतंककारी हमलामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपालस्थित भारतीय दूतावासले आइतबार आयोजना गरेको कार्यक्रममा मन्त्री डा. राणाले नेपाल सधैं शान्तिको पक्षमा र आतंकवादको विपक्षमा दृढ रूपमा उभिएको स्पष्ट गर्नुभएको हो।
उहाँले भन्नुभयो, “नेपालले आतंकवादका सबै स्वरूप र अभिव्यक्तिहरूको कडा शब्दमा निन्दा गर्दछ। नेपाल जहाँ, जहिले र जुनसुकै उद्देश्यका लागि गरिने आतंकवादी गतिविधिको सदैव विपक्षमा उभिन्छ।”
मन्त्री डा. राणाले आतंकवादप्रति व्यवहार गर्दा कहिल्यै दोहोरो मापदण्ड अपनाउन नहुने उल्लेख गर्दै नेपालको भूमि कुनै पनि आतंकवादी समूहद्वारा कुनै पनि मुलुक वा जनताविरुद्ध प्रयोग हुन नदिन दृढ प्रतिवद्ध रहेको बताउनुभयो।
उहाँले काश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणको कडा शब्दमा निन्दा र भर्त्सना गर्दै भन्नुभयो, “नेपाल आतंकवादविरुद्धको लडाइँमा भारतसँग काँधमा काँध मिलाएर उभिएको छ।”
नेपाल र भारतबीचको सम्बन्ध केवल कूटनीतिक नभई सदियौँदेखिको साझा इतिहास, संस्कृति र सहकार्यमा आधारित रहेको उल्लेख गर्दै मन्त्री डा. राणाले थप्नुभयो, “हाम्रा खुला सिमानाहरू आपसी विश्वासका प्रतीक हुन् र पारिवारिक सम्बन्धहरूले दुई देशबीचको आत्मीयता झनै मजबुत बनाएका छन्। हामी सधैं खुशी र संकट दुवै अवस्थामा सँगै उभिएका छौं। भूकम्पको विनाशकारी क्षणमा सबैभन्दा पहिला सहयोगको हात अघि बढाउने भारत नै थियो।”
कार्यक्रममा मन्त्री डा. राणाले पहलगाम हमलाका क्रममा ज्यान गुमाएका नेपाली युवा सुदीप न्यौपानेको शव र अन्य प्रभावितहरूलाई नेपाल ल्याउन सहयोग गरेकोमा भारत सरकारप्रति धन्यवाद पनि प्रकट गर्नुभयो।
उहाँले सो अवसरमा आक्रमणमा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहेका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको थियो।











