सरकार परिवर्तनको हल्ला मात्र: परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा

-


     हिडन खबर    
     वैशाख १२ गते २०८२ मा प्रकाशित


परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सरकार परिवर्तनको कुरा केवल हल्ला मात्र भएको बताउनुभएको छ। थाइल्याण्डको बैंककमा आयोजित संयुक्त राष्ट्रसंघीय एक कार्यक्रममा सहभागी भएर आज स्वदेश फर्किएपछि पत्रकारहरूसँग कुरा गर्दै उहाँले भन्नुभयो, “अहिले सरकार परिवर्तनको कुनै सम्भावना छैन, यो केवल मनोरञ्जनका लागि फैलाइएको हल्ला हुनसक्छ।”

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बैंकक जानु अघि नेपालमा सरकार परिवर्तनको चर्चा फैलिएको थियो। यस सम्बन्धमा सोधिएका प्रश्नको जवाफमा मन्त्री डा. राणा भन्नुहुन्छ, “सभापतिजी नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जानुभएको हो, कुनै पनि राजनीतिक भेटघाटका लागि भने होइन।”

मन्त्री डा. राणाले भन्नुभयो कि, आफूले सरकार परिवर्तनका हल्ला समाचारमा पढे पनि, हिजो कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग फोनमा कुराकानी गर्नुभएको जानकारी पाएका थिए।

मन्त्री डा. राणा आज स्वदेश फर्केर एशिया तथा प्रशान्त क्षेत्रीय आर्थिक र सामाजिक आयोग (युएनस्केप) को ८१औं सत्रको अध्यक्षता समाप्त गरी फर्किनुभएको हो। उहाँले यसै क्रममा अतिकम विकसित, भूपरिवेष्ठित र साना टापू विकासोन्मुख राष्ट्रहरूको विशेष बैठकको अध्यक्षता गर्नुभएको थियो।

नेपालको तर्फबाट राखिएका धारणाले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चमा नेपालको पहिचान र प्रतिनिधित्वलाई अभिवृद्धि गरेको बताउँदै उहाँले यसले राष्ट्रिय हितको प्रवद्र्धनमा सहयोग पुर्‍याएको जानकारी दिनुभयो।

यस भ्रमणको अवसरमा, डा. राणाले एसिया प्रशान्त क्षेत्रको आर्थिक र सामाजिक विकासका लागि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहयोग आदानप्रदानमा स्केपको भूमिका प्रंशसा गर्दै यसका कार्यकारी सचिव अर्मिन्दा सालसिया अलिस्जाबनासँग भेटघाट गर्नुभएको थियो। साथै, उहाँले संयुक्त राष्ट्रसंघका उच्च प्रतिनिधि रहाब फतिमासँग पनि आपसी हितका विविध विषयमा छलफल गर्नुभएको थियो।

मन्त्री डा. राणाले यस भ्रमणका क्रममा आगामी जेठ २ देखि ४ सम्म काठमाडौँमा आयोजना हुने सगरमाथा संवादको बारेमा संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरू, अन्तर्राष्ट्रिय संघसंस्था र नागरिक समाजका प्रतिनिधिहरूलाई जानकारी दिएको र उच्चस्तरीय सहभागिताका लागि आमन्त्रण गरेको जानकारी पनि दिनुभयो।

१२ वैशाख, २०८२