चुनावमा गरेको वाचा बिर्सिएको छैन : अध्यक्ष प्रचण्ड

-


     हिडन खबर    
     वैशाख १२ गते २०८२ मा प्रकाशित


गोरखा, वैशाख १२, २०८२ — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले चुनावमा गरेका वाचा कहिल्यै नबिर्सिएको स्पष्ट पारेका छन्।

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको कार्यपालिका बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफू सरकारमा रहँदा ती वाचा पूरा गर्न इमान्दार प्रयास गरिएको बताए। गाउँपालिका अध्यक्ष विष्णु भट्टले बजेट अभावका कारण सडक, खानेपानी लगायत पूर्वाधार निर्माणमा समस्या रहेको गुनासो राखेका थिए।

अध्यक्ष प्रचण्डले भने, “चुनावमा मैले तपाईंहरूसँग गरेका वाचा कहिल्यै भुलेको छैन। सरकार चलाउँदा ती वाचा पूरा गर्न सक्ने सीमा भित्र इमान्दारीपूर्वक प्रयास गरियो। अहिले पनि म प्रमुख प्रतिपक्षको नेताका रूपमा ती विषयहरू संसद्मा निरन्तर उठाउँदै आएको छु।”

उनले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई क्षेत्रीय विभेद नगर्न आग्रह गर्दै स्थानीय आवश्यकता र मागहरूलाई प्राथमिकतामा राखेर योजनाबद्ध विकास गर्न अपिल गरे।

मुख्यमन्त्री पाण्डेले अध्यक्ष प्रचण्डसँग सहकार्य गर्दै प्रदेश सरकारका योजनाहरू सबै स्थानीय तहसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

बैठकमा जनप्रतिनिधिहरूले ढुंगा, गिटी, बालुवा निकासी भइरहे पनि राजस्व संकलन नभएको गुनासो पोखे। यसप्रति प्रतिक्रिया दिँदै प्रचण्डले भने, “राजस्व संकलन र पारदर्शिता सुशासनको मेरुदण्ड हो। यसका लागि कानुन निर्माण र कार्यान्वयनमा प्रदेश सरकारको सक्रिय भूमिका अपरिहार्य छ।”

अन्त्यमा अध्यक्ष प्रचण्डले सुशासन र पारदर्शितालाई विकासको आधार बनाउँदै सबै राजनीतिक दलहरू र जनप्रतिनिधिहरू एकजुट भएर अघि बढ्न आह्वान गरे।