उपप्रधानमन्त्री सिंह र भारतीय मन्त्री भट्टरबीच शिष्टाचार भेट, शहरी विकासमा सहकार्यको चर्चा

-


     हिडन खबर    
     वैशाख १० गते २०८२ मा प्रकाशित


काठमाडौं, वैशाख ११ — उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह र भारतका विद्युत, आवास तथा शहरी मामिलासम्बन्धी मन्त्री मनोहरलाल भट्टरबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ। भारतीय मन्त्री भट्टरले शहरी विकास मन्त्रालयमा पुगेर उपप्रधानमन्त्री सिंहलाई भेट गरेका हुन्।

भेटवार्तामा दुई देशबीचको हित, आपसी सम्बन्ध विस्तार तथा शहरीकरणको क्षेत्रमा सहकार्यका सम्भावनाहरू बारे छलफल भएको शहरी विकास मन्त्रालयले जनाएको छ।

शिष्टाचार भेटपछि मन्त्रालयका सचिव गोपाल सिग्देलले भने, “भारतले पछिल्लो समय शहरी विकास, फोहोरमैला व्यवस्थापन तथा शहरी यातायातमा उल्लेखनीय प्रगति गरेको छ। ती अनुभवहरू नेपालसँग आदान–प्रदान गर्ने र आगामी दिनमा सहकार्य बढाउने विषयमा सकारात्मक छलफल भएको छ।”

उनका अनुसार नेपाल र भारतबीच शहरीकरणसम्बन्धी अनुभव आदान–प्रदान तथा सहकार्यका लागि समझदारीपत्र (एमओयू) तयार पारिँदैछ। उक्त समझदारीमा छिटै हस्ताक्षर भएपछि दुई देशबीच शहरी विकासको क्षेत्रमा औपचारिक सहकार्य सुरु हुने अपेक्षा गरिएको छ।