
काठमाडौं, वैशाख १० — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत वर्तमान सरकारप्रति तीव्र आलोचना गरेको छ। पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले जारी गरेको प्रेस विज्ञप्तिमा वर्तमान दुईदलीय सत्तागठबन्धनलाई “अप्राकृतिक, अपारदर्शी र संवैधानिक नैतिकता विपरीत” को संज्ञा दिँदै यसको कुनै पनि काम जनहित र राष्ट्रहितमा नभएको आरोप लगाइएको छ।
प्रेस विज्ञप्तिमा भनिएको छ, “सरकारले प्राविधिक रूपमा त अस्तित्व कायम राखेको भए पनि राजनीतिक रूपमा आफ्नो वैधानिकता गुमाइसकेको छ। यसलाई अब सत्तामा रहने कुनै नैतिक अधिकार छैन।”
माओवादी केन्द्रले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको अघिल्लो सरकारका भ्रष्टाचार विरोधी कदमहरू उल्ट्याउने काम भएको भन्दै वर्तमान सरकारमाथि शासकीय निकायहरूमा हस्तक्षेप, पदाधिकारीहरूको अपमानजनक हटावट, र विपक्षीहरूमाथि सत्ता दुरुपयोगको आरोप लगाएको छ।
शिक्षक आन्दोलन र संसद अधिवेशनमा जोड
पार्टीले शिक्षा विधेयकलाई संसदको फास्ट ट्र्याकबाट पास गर्न माग गर्दै शिक्षकहरूको आन्दोलनलाई समर्थन जनाएको छ। “प्रधानमन्त्री शिक्षकमाथि असम्मानजनक व्यवहार गरिरहेका छन्,” वक्तव्यमा भनिएको छ।
साथै लघुवित्त, सहकारी, कर्मचारी, चिकित्सक लगायतका आन्दोलनरत समूहहरूसँग वार्ता गरी जायज मागहरू सम्बोधन गर्न सरकारलाई गम्भीर ध्यानाकर्षण गराइएको छ।
तराई–मधेश जागरण अभियानको समीक्षा
पार्टीले हाल सञ्चालनमा रहेको ‘हुलाकी मार्ग केन्द्रित तराई मधेश जागरण अभियान’ बारे जानकारी दिँदै हालसम्म झापा कचनाकवलदेखि कपिलवस्तुसम्म एक करोडको हाराहारी जनतासँग संवाद भएको दाबी गरेको छ। यो अभियान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंको नेतृत्वमा सञ्चालित रहेको र यसले विभिन्न सामाजिक, आर्थिक, राजनीतिक विषयमा गहन अध्ययन तथा संवाद गरेको जनाइएको छ।
विदेशी भूमिमा नेपाली नागरिकको मृत्युप्रति भ्रत्सना
भारतको जम्मु कश्मीरमा भएको आतङ्कवादी आक्रमणमा नेपाली नागरिक सुदिप न्यौपानेको मृत्यु भएको घटनाप्रति पार्टीले गहिरो दुःख व्यक्त गर्दै घोर भ्रत्सना गरेको छ।









