
काठमाडौं – नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लेनिन जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै समाजवादको यात्रामा एकजुट हुन अपील गरेका छन्।
सन्देशमा प्रचण्डले महान् नेता लेनिनले देखाएको बाटो आजको विश्व संकटमा अझ सान्दर्भिक भएको उल्लेख गरेका छन्। उनले पूँजीवादले असमानता, युद्ध, बेरोजगारी र वातावरणीय संकट निम्त्याएको बताउँदै लेनिनको विचारमार्फत मात्र न्यायपूर्ण समाज सम्भव हुने बताएका छन्।
२००६ सालमा सुरु भएको कम्युनिस्ट आन्दोलनको उपलब्धि जनताको संघर्ष, त्याग र बलिदानको परिणाम भएको स्मरण गर्दै, प्रचण्डले केही प्रतिगमनकारी शक्तिहरूले ती उपलब्धि खोस्न खोजिरहेको चेतावनी पनि दिएका छन्।
“समानता, स्वतन्त्रता र न्यायका पक्षधरहरू एक भएर समाजवादतर्फ अघि बढ्नु आजको राष्ट्रिय जिम्मेवारी हो,” उनले सन्देशमा उल्लेख गरेका छन्।










