‘जार’ले नेपाली सिनेमामा नयाँ उचाइ थप्ने आशा

-


     हिडन खबर    
     वैशाख ८ गते २०८२ मा प्रकाशित


काठमाडौं । नेपाली सिनेमा क्षेत्रलाई नयाँ आयाम दिने विश्वासका साथ निर्माण गरिएको चलचित्र ‘जार’ वैशाख २६ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ। विषयवस्तु, प्रस्तुति र प्राविधिक पक्षको हिसाबले बलियो रहेको यो चलचित्रले नेपाली फिल्मलाई एक खुड्किलो माथि पुर्‍याउने निर्माण पक्षको दाबी छ।

निर्देशक फूर्वा छिरिङ लामाका अनुसार ‘जार’ले नेपाली समाजको गहिरो यथार्थ बोकेको छ। “यो कुनै काल्पनिक कथा होइन, नेपाली समाजमा साँच्चिकै घटेको यथार्थ घटनाको सिनेम्याटिक प्रस्तुति हो,” निर्देशक लामाले भने, “सामाजिक सन्देश बोकेको यो फिल्म हरेक दर्शकको मन छुनेछ भन्ने विश्वास छ।”

चलचित्र साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित छ। सन् १८०० को दशकमा घटेको यथार्थ घटनालाई आधार बनाएर बनाइएको ‘जार’मा कथालाई सिनेम्याटिक लिबर्टीसहित प्रस्तुत गरिएको निर्देशक लामाको भनाइ छ। “कथा जति सशक्त छ, त्योभन्दा पनि यसको भिजुअल प्रस्तुति दर्शकका लागि अझ प्रभावकारी हुने छ,” उनले थपे।

सौगात मल्ल, अनुपविक्रम शाहीगीताञ्जली थापा जस्ता चर्चित कलाकारहरूले मुख्य भूमिका निर्वाह गरेका छन्। ‘लायर्स डाइस’बाट राष्ट्रिय पुरस्कार विजेता बनेकी भारतीय अभिनेत्री गीताञ्जलीको अभिनय पनि यस चलचित्रको एक बलियो पक्ष हो।

फेरि टेल पिक्चर्सको ब्यानरमा बनेको चलचित्रमा बजारको मागअनुसार नभई कथाको मागअनुसार कलाकार छानिएको निर्माण टिमले जनाएको छ। “सिनेमा कुनै पनि पक्षबाट कमजोर नहोस् भनेर सुरुबाटै सचेत भएर काम गरिएको हो,” निर्देशक लामाले स्पष्ट पारे।

सिक्किममा छायांकन गरिएको यो चलचित्र होप रिल्स, एलए सेभेन स्टार्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको हो। कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्रीपेमा रिन्जिङ लेप्चा रहेका छन्।

चलचित्रको छायांकन सरवानन इलावार्सुले गरेका हुन् भने सम्पादनमा अखिलेश राई र संगीतमा झुमा लिम्बु र गंगा थापा रहेका छन्।

‘जार’ नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ रिलिज हुने भएको छ। नेपालमा एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्टएफडी कम्पनीले वितरण गर्ने छन् भने विदेशमा सेभेन सिज सिनेमाले वितरणको जिम्मा लिएको छ।