
काठमाडौं, ७ वैशाख – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (UNESCAP) को ८१औँ सत्रमा सहभागी हुन आज थाइल्याण्डको बैंकक प्रस्थान गरेकी छन्।
अप्रिल २१ देखि २५ सम्म बैंककमा आयोजना हुने उक्त सत्रमा नेपाल हाल युएनस्केपको अध्यक्ष भएकाले मन्त्री डा. राणाले सत्रको अध्यक्षता गर्नेछिन्। उनले सत्रलाई नेपालको तर्फबाट सम्बोधन पनि गर्ने कार्यक्रम तय भएको छ।
यस वर्ष सत्रको प्रमुख विषय एसिया तथा प्रशान्त क्षेत्रमा दिगो सहरी विकासका लागि क्षेत्रीय सहयोग रहेको छ। मन्त्री राणाको नेतृत्वमा परराष्ट्र मन्त्रालय, राष्ट्रिय योजना आयोग र थाइल्याण्डस्थित नेपाली दूतावासका अधिकारीहरू सम्मिलित प्रतिनिधिमण्डल सहभागी हुनेछ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रतिनिधिमण्डल अप्रिल २५ (वैशाख १२) मा स्वदेश फर्कने कार्यक्रम रहेको छ।












