परराष्ट्रमन्त्री डा. राणा बैंकक जाँदै, युएनस्केपको अध्यक्षता गर्ने

-


     हिडन खबर    
     वैशाख ६ गते २०८२ मा प्रकाशित


काठमाडौं, वैशाख ६ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भोलि थाइल्याण्डको राजधानी बैंकक जान लागेकी छन्। उहाँ संयुक्त राष्ट्रसंघीय एशिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (UNESCAP) को ८१औँ सत्रमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्न लागेकी हुन्।

सो सत्र यही अप्रिल २१ देखि २५ (वैशाख ८–१२) सम्म बैंककमा आयोजना हुँदैछ। हाल नेपाल युएनस्केपको अध्यक्ष राष्ट्र भएकाले मन्त्री डा. राणाले उक्त सत्रको अध्यक्षता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्री डा. राणाले नेपालको तर्फबाट सत्रलाई सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको छ।

८१औँ सत्रको मूल विषय “एशिया तथा प्रशान्त क्षेत्रमा दिगो सहरी विकासका लागि क्षेत्रीय सहयोग” रहेको छ।

मन्त्री डा. राणाको नेतृत्वमा परराष्ट्र मन्त्रालय, राष्ट्रिय योजना आयोग र थाइल्याण्डस्थित नेपाली दूतावासका अधिकारीहरू सम्मिलित प्रतिनिधिमण्डल उक्त सत्रमा सहभागी हुनेछ।

प्रतिनिधिमण्डल यही अप्रिल २५ मा स्वदेश फर्कने कार्यक्रम छ।