नेपाल मगर संघ बागलुङ–काठमाडौं सम्पर्क समितिद्वारा बनभोज कार्यक्रम, ज्येष्ठ नागरिक र बिरामीलाई सम्मानसहित सहयोग

-


     हिडन खबर    
     वैशाख ५ गते २०८२ मा प्रकाशित


काठमाडौं –
नेपाल मगर संघ बागलुङ–काठमाडौं सम्पर्क समितिले नयाँ वर्ष २०८२ को अवसरमा बनभोज तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ। संघले चन्द्रागिरी–६, मातातिर्थमा यही शनिबार आयोजना गर्न लागेको कार्यक्रममा सांस्कृतिक प्रस्तुति, सम्मान तथा आर्थिक सहयोगसमेत समावेश गरिएको छ।

कार्यक्रममा बागलुङका स्थानीय कलाकारहरूको लाइभ पञ्चेबाजा र मौलिक सांस्कृतिक प्रस्तुति रहनेछ। साथै, ज्येष्ठ नागरिक, दीर्घरोगी बिरामी र आर्थिक रूपमा कमजोर तर जेहेन्दार विद्यार्थीहरूलाई सम्मान गर्दै नगद सहयोग प्रदान गरिने आयोजकले जनाएको छ।

नेपाल मगर संघ बागलुङ–काठमाडौं सम्पर्क समिति लामो समयदेखि काठमाडौंमा स्थायी वा अस्थायी रूपमा बसोबास गरिरहेका बागलुङवासीहरूबीच सम्बन्ध सुदृढ पार्ने उद्देश्यले हरेक वर्ष यस्तो कार्यक्रम गर्दै आएको छ।

“बनभोजको माध्यमबाट हामी बागलुङेहरूबीचको आपसी समझदारी, दुःखसुखको साटासाट र पहिचानको प्रवर्द्धन गर्दै आएका छौं,” कार्यक्रम संयोजक तथा गायिका दिलु सलामी मगरले भनिन्। उनका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ।

संघले ‘मगरात स्वायत्त प्रदेश स्थापनाको मूल मन्त्र’लाई आत्मसात गर्दै सामाजिक सेवाका विभिन्न गतिविधि अघि बढाउँदै आएको जनाएको छ।