
वैशाख ५, २०८२ – तिलौराकोट, कपिलवस्तु :
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कपिलवस्तुस्थित तिलौराकोट पुगेर सिद्धार्थ गौतम बुद्धको ऐतिहासिक निवासस्थलको अवलोकन गरेका छन्। उनले सो क्षेत्रको संरक्षण, समृद्धि र पर्यटकीय विकासमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।
हुलाकी राजमार्ग केन्द्रित अभियानअन्तर्गत तराईका विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलहरूको अवलोकन भइरहेको जानकारी दिँदै अध्यक्ष प्रचण्डले भने, “हामी तराईका सबै क्षेत्रको ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय सम्भावनाको अध्ययन र विश्लेषण गरिरहेका छौं।”
उनले तिलौराकोटलाई बुद्धको प्रारम्भिक जीवनसँग प्रत्यक्ष सम्बन्धित ऐतिहासिक स्थलका रूपमा चिनाउँदै यसको प्रचारप्रसार र विकासमा राज्यले प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे।
ऐतिहासिक प्रमाणअनुसार, लुम्बिनीमा जन्मिएका बुद्धले बाल्यकाल र युवावस्था तिलौराकोटमै बिताएका थिए। यहींबाट उनले तपस्याको मार्गमा अग्रसर हुँदै बुद्धत्व प्राप्त गरेका थिए।
अध्यक्ष प्रचण्डको यो अवलोकनले तिलौराकोट क्षेत्रको संरक्षण र अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्न थप बहस र पहल आवश्यक रहेको सन्देश दिएको छ।













