महिलाको सशक्त दाबी छैन स्थानीय तहको निर्वाचनमा

-


     राजनीतिक व्यूरो    
     वैशाख २ गते २०७९ मा प्रकाशित


अघिपछि राजनीति लगायत हरेक क्षेत्रमा महिलाको सशक्त उपस्थिति हुनुपर्छ भनेर चर्को स्वरमा वकालत गर्ने महिलाहरू यसपटक भने चुपचाप देखिएका छन् ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा वडा तहदेखि गाउँ पालिका अध्यक्ष , उपाध्यक्ष ,नगरपालिका नगर प्रमुख, उप प्रमुख,लगायतका पदमा उमेदवार बन्न राजनीति पार्टीमा तछाडमछाड चलिरहेको बेला महिला नेतृत्व भने चुपचाप नै देखिन्छन् ।प्रमुख राजनीति पार्टी भित्रका महिला नेतृत्व समेत यसपटकको स्थानीय तहको निर्वाचनको लागि खासै जाँगर देखाएको देखिदैन ।

अघिपछि महिला अधिकारकाे चर्को कुरा गर्ने महिलाहरू यसपटक हुने स्थानीय तहको निर्वाचनकाे लागि राजनीति गतिविधि गर्न निकै सक्रिय भएको देखिएपनि उमेदवार दाबी गर्ने बिषयमा भने पछि हटेकाे देखिन्छन् ।

स्थानीय तहको निर्वाचनमा महिलाको सहभागीता नदेखिनुमा पितृसत्तात्मक मानसिकता कायमै रहेको कारणले पनि प्रभाव पारेको महिला अधिकारकर्मिहरू बताउँछन् ।अवसर लिन पनि महिला दिदीबहिनी हिचकिचाउने दबाब र प्रभाव कायमै रहेको कारणले पनि प्रमुख पदमा दाबी गर्न नसक्नु समस्या आएकाे महिला अधिकारकर्मि तारा शर्माले बताए ।

अहिलेकाे खर्चिलो र भत्किलाे निर्वाचन प्रणालीकाे कारण गर्दा पनि महिलाहरू प्रमुख पदको लागि दावेदार बन्न नसकेको नेपाल महिला संघका अध्यक्ष शकुन्तला शर्माले बताउनुभयो ।
अहिले पनि महिलालाई राजनीतिकाे मुलधार र प्रमुख पदमा खडा गर्नका लागि धेरै चुनाैती रहेको अध्यक्ष शर्माले बताउनुभयो ।महिलालाई अझैसम्म घर परिवार देखि समाज संग गर्नुपर्ने संघर्ष कायमै रहेको शर्माकाे भनाइ छ ।

एमाले निकट महिला संघ अखिल नेपाल महिला संघको छैठौं जिल्ला अधिवेशन हालै सम्पन्न भयो ।सम्मेलनकाे नारा स्थानीय तहकाे जनप्रतिनिधिमा महिलाको सशक्त दाबी भन्ने नारा अगाडि सारेको भएपनि ब्यवहारमा भने खासै प्रभाव नपारेको महिला नेताहरूकाे भनाइ रहेको छ ।यसपटकको स्थानीय तहको निर्वाचनमा महिलाको सशक्त उपस्थिति हुनुपर्छ भनेर पार्टीमा बहस गरिरहेकाे अखिल नेपाल महिला संघका जिल्ला अध्यक्ष लक्ष्मी बाेहाेराले हिडन खबरलाई बताउनुभयो ।

अहिलेपनि महिलाहरू आर्थिक रूपले आत्मानिर्भर नभइसकेको कारणले पनि लाखौं रूपैया खर्च गरेर चुनाव लड्नु पर्ने भएको कारणले पनि महिलाको दाबी कम देखिएको नेपाल कम्युनिस्ट पार्टी माआ‌ेवादी केन्द्र गण्डकी प्रदेश सदस्य कुसुम बुढाले बताउनुभयो ।

अहिले महिलाहरू राजनीतिकाे मुलधारमा आएपनि स्थानीय तहको निर्वाचनकाे लागि भने लाखौं रूपैयाँ खर्च गर्नुपर्ने बाध्यता भएको कारणले पनि उमेदवारकाे लागि इच्छुक नदेखिएको हुन सक्ने महिला अधिकारकर्मि लक्ष्मी बाँस्कोटाकाे भनाइ छ । अहिले भइरहेको निर्वाचन प्रणालीमा आमूल परिवर्तन नभए सम्म महिला दिदिबहिनीले लाखौं करोडौं रूपैयाँ खर्च गरेर जनप्रतिनिधि बन्न सक्ने हैसियत नहुने बाँस्कोटाले बताउनुभयो ।

बागलुङ जिल्लाकाे १० वटा स्थानीय तह मध्य ४ वटा नगरपालिका ,र ६ वटा गाउँ पालिकाकाे नेतृत्व लिनकाे लागि नेपाली कांग्रेस ,नेकपा एमाले ,नेकपा माआ‌ेवादी केन्द्र ,राष्ट्रिय जनमाेर्चा ,नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीमा महिलाको अग्रसरता निकै कम देखिएको छ ।

बागलुङ नगरपालिकाकाे नगर प्रमुखकाे लागि पार्वती आचार्य , एमाले बाट गीता शर्मा ,माआ‌ेवादी बाट कुसुम बुढा ,आकांक्षी देखिएका छन् ।

स्थानीय तह हाक्नकाे लागि महिला एकसे एक नेतृत्व तयार भए पनि बाहिर आउने वातावरण नभएको कारणले पनि सशक्त दाबी गर्नेकाे संख्या भने कम हुने आकल गरिएको छ ।

यस्तै काठेखाेला गाउँ पालिकामा हुमा कुमारी जीसी ,गंगा शर्मा ,मिना सापकोटा कडेल ,ज्ञानकुमारी शिरीष कडेल ,बडी गाड गाउँपालिका गण्डकी अधिकारी ,देखिएका छन् ।

यस्तै महिला नेत्रिहरू भविकला राेका,चिनीमाया काला ,मन्जु चालिसे ,रेणुका काउचा ,नगर प्रमुख देखि गाउँ पालिकाकाे अध्यक्षकाे लागि आकांक्षी देखिएका छन् । यस्तै यसपटक एकजना मात्रै स्वतन्त्र उमेदवार भएको नितु खड्काले प्रचार गरिरहेका छन् । यस्तै नेपाली कांग्रेस (बीपी )बाट धना आचार्यले बागलुङ नगरपालिकामा नगर प्रमुख पदमा उमेदवार बन्ने घाेषणा गरिसकेका छन् ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस सहितको ५ दलीय गठबन्धन र एमाले राप्रपा कमल थापा र परिवार दलको गठबन्धन हुने भएपछि के कस्तो ढंगले चुनावी तालमेल हुन्छ त्यसमा कुन ठाउँमा काे उमेदवार कायम हुन्छन् त्यो अझ परको बिषय बनेको छ ।राजनीति भागबन्डाकाे नाममा तालमेलकाे नाममा अहिले पनि पुरूष कै हालीमुहाली हुने भएको कारणले पनि महिलाको सहभागीता कम हुन जाने महिला नेताहरूकाे भनाइ रहेको छ ।