अध्यक्ष प्रचण्डद्वारा कपिलवस्तुमा प्रस्तावित कन्या कलेजको अवलोकन, स्थानीयसँग अन्तरक्रिया

-


     हिडन खबर    
     वैशाख ५ गते २०८२ मा प्रकाशित


वैशाख ५, २०८२ – कपिलवस्तु:
पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कपिलवस्तु जिल्ला शुद्धोधन गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय (प्रस्तावित कन्या कलेज) पुग्नुभयो। उहाँले सो अवसरमा विद्यार्थी, अभिभावक र स्थानीयबासीसँग अन्तरक्रिया गर्दै विद्यालयको अवस्था बारे जानकारी लिनुभयो।

कार्यक्रममा माओवादी केन्द्र लुम्बिनी प्रदेशका इञ्चार्ज बलदेव खनालले पनि सम्बोधन गर्नुभएको थियो।
कपिलवस्तुको दक्षिणी क्षेत्रमा अवस्थित उक्त कलेज विशेषगरी मुस्लिम, थारू र मधेसी समुदायका छात्रालाई लक्षित गरी स्थापना गर्न लागिएको हो। महिला हिंसा र सामाजिक असुरक्षाका कारण शिक्षाबाट वञ्चित हुँदै आएका छात्राका लागि यो कलेज महत्वपूर्ण अवसरको रूपमा हेरिएको छ।

हाल कक्षा १२ सम्मको पठनपाठन सञ्चालन भइरहेको विद्यालयमा भविष्यमा स्नातक तह (ब्याचलर) अध्ययनको व्यवस्था मिलाउने योजना रहेको जानकारी दिइएको छ। साथै छात्राहरूको विद्यालय आवागमन सहज बनाउन कलेज बसको आवश्यकता रहेको विषयमा समेत छलफल भएको थियो।

अध्यक्ष प्रचण्डले विद्यालयलाई एक प्रभावकारी कलेजका रूपमा सञ्चालन गर्दै सामाजिक समावेशीता र लैङ्गिक समानताको नमुना केन्द्रको रूपमा विकास गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो। साथै, कलेज बसको व्यवस्थाका लागि आवश्यक पहल गरिने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो।