
काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा निर्माणाधीन प्यारापिट र फ्लडलाइट जडान कार्यको छड्के अनुगमन गर्नुभएको छ।
बिहीबार मैदानको स्थलगत निरीक्षण गर्दै मन्त्री सिंहले तोकिएको समयभित्रै प्यारापिट निर्माण कार्य सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो। निरीक्षणका क्रममा ठेकेदार कम्पनीका प्रतिनिधिहरुले निर्माण कार्यको प्रगतिबारे जानकारी गराएका थिए।
उपप्रधानमन्त्री सिंहले वैशाख २४ गतेभित्र काम सक्ने लक्ष्यसहित निर्माण कार्य तीव्र रूपमा अघि बढिरहेको जानकारी दिनुभयो। उनले तीन सिफ्टमा काम भइरहेको र आवश्यक परे जनशक्ति थप गरेर तोकिएको समयमै काम सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो।
कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार १० हजार दर्शक क्षमता भएको प्यारापिट र फ्लडलाइट जडान कार्यको सम्झौता २०८१ सालको फागुन महिनामा भएको हो।
अनुगमनको समयमा वर्षा भइरहे पनि उपप्रधानमन्त्री सिंह स्थलमै पुगेर निरीक्षण गर्नुभएको थियो।




