उत्तम साइतमा श्री गण्डकी कोटिहोम महायज्ञको क्षमा पूजन, भूमिपूजन तथा यज्ञ कुण्ड खनन सम्पन्न

-


     हिडन खबर    
     वैशाख ४ गते २०८२ मा प्रकाशित


पोखरा, विरौटा – पोखरा महानगरपालिका–१७, विरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ अन्तर्गत एकै दिन तीन महत्वपूर्ण धार्मिक कार्यहरू—क्षमा पूजन, भूमिपूजन र यज्ञ कुण्ड खनन—विधिपूर्वक सम्पन्न भएका छन्।

यसअघि, गत फागुन २३ गते महायज्ञको लागि प्रारम्भिक भूमिपूजन सम्पन्न गरिए तापनि विविध कारणले महायज्ञ स्थल परिवर्तन गर्नु परेको थियो। नयाँ स्थलको रुपमा पोखरा–६, लेकसाइडस्थित बाराहीघाट चयन गरिएपछि आज बिहान त्यहाँ विधिपूर्वक क्षमा पूजन सम्पन्न भएको हो।

त्यसपछि, श्री गण्डकी कोटिहोम महायज्ञ सञ्चालन गरिने श्री सिद्धेश्वर हरिहर मन्दिरको प्रांगणमा आज बिहान ठीक ११ बजेर १ मिनेटमा भूमिपूजन सम्पन्न गरिएको छ। नेपाल पञ्चाङ्ग विकास समितिबाट प्रदान गरिएको उत्तम साइतमा यो कार्य सम्पन्न भएको आयोजक समितिले जनाएको छ।

यसै क्रममा, आजै बिहान ठीक ११ बजेर ११ मिनेटमा यज्ञ कुण्डको पनि विधिपूर्वक खनन गरिएको छ। धार्मिक विधिअनुसार सुरु गरिएको यस महायज्ञको तयारी अन्तर्गतको आजको कार्यक्रम विशेष रूपमा सफल भएको बताइएको छ।

उक्त भूमिपूजन कार्यक्रममा विभिन्न स्वामीज्यूहरू, पोखरा महानगरपालिका–१७ की अध्यक्ष राधिका शाही, स्थानीय सामाजिक संघसंस्था तथा आमा समूहका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।