‘जनतासँग माओवादी’ अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न

-


     हिडन खबर    
     वैशाख ३ गते २०८२ मा प्रकाशित


परासी, वैशाख ३ –
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्ला समन्वय समितिद्वारा आयोजित ‘जनतासँग माओवादी: तराई–मधेश जागरण अभियान’ अन्तर्गत सदरमुकाम परासीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा उद्योग तथा व्यापार क्षेत्रका प्रतिनिधि, शिक्षाविद्, सञ्चारकर्मी, नागरिक समाजका अगुवा, विभिन्न संघसंस्था तथा सामाजिक अभियन्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले मुलुकको वर्तमान आर्थिक, सामाजिक तथा राजनीतिक परिदृश्यमा देखिएका जटिल विषयबारे पार्टी नेतृत्व समक्ष जिज्ञासा राख्नुका साथै सुझावहरू प्रस्तुत गरेका थिए।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहभागीहरूद्वारा उठाइएका प्रश्नहरूको जवाफ दिनुभयो। उहाँले विशेषतः तराई–मधेश क्षेत्रको योगदानको चर्चा गर्दै हालै तीनकुनेमा राजावादी समूहद्वारा सञ्चालित आन्दोलनको क्रममा पत्रकारलाई जिउँदै जलाउने प्रयास, उद्योग–व्यवसायमा आगजनी तथा तोडफोडजस्ता आपराधिक घटनाले राजावादी प्रवृत्तिको वास्तविकता उजागर गरेको उल्लेख गर्नुभयो।

“यस्ता अराजक गतिविधिले लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता र नागरिक अधिकारमाथि गम्भीर आघात पुर्‍याउँछन्,” अध्यक्ष दाहालले भन्नुभयो, “त्यसैले सम्पूर्ण लोकतान्त्रिक शक्तिहरू एकताबद्ध भएर प्रतिवाद गर्न आवश्यक छ।”

सहभागीहरूले बैंकिङ क्षेत्रमा देखिएको ब्याजदर अस्थिरताले व्यवसायमा पारेको प्रतिकूल असरबारे जानकारी गराउँदै व्यवसायिक वातावरण सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका थिए। साथै हाल देशभर जारी शिक्षक आन्दोलनप्रति चिन्ता व्यक्त गर्दै यसको शीघ्र समाधान गरी बालबालिकालाई पठनपाठनमा फर्काउने वातावरण सिर्जना गर्न माग गरिएको थियो।

अध्यक्ष दाहालले आफू प्रधानमन्त्री हुँदा शिक्षकका माग सम्बोधन गर्न संसद्मा विधेयक दर्ता गरिएको जानकारी पनि दिनुभयो।

उहाँले हुलाकी मार्गजस्ता आधारभूत पूर्वाधार योजनाले जनतामा आशा र विश्वास पुनःस्थापित गरेको उल्लेख गर्दै पार्टीको अभियान उपदेशमुखी नभई जनताको पीडा र अपेक्षाको प्रत्यक्ष अनुभूतिमा आधारित भएको स्पष्ट पार्नुभयो।

“विकासको मोडल स्थानीय आत्मनिर्भर अर्थतन्त्रमा आधारित हुनुपर्छ,” उहाँले भन्नुभयो, “राष्ट्रिय हितलाई केन्द्रमा राखी समावेशी, सन्तुलित र दिगो विकासको बाटो आजको आवश्यकता हो।”

सहभागीहरूले माओवादी केन्द्रको यस्तो प्रत्यक्ष संवादले पार्टी नेतृत्व र आम नागरिकबीच पारस्परिक विश्वास तथा सहकार्यको वातावरण निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।