
पुरानाै व्यवस्थामा फर्कने कल्पना गर्न सकिन्न
उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले हजारौंको बलिदानी र संघर्षबाट प्राप्त अधिकारहरूको रक्षाका लागि संवेदनशील भएर सोच्नुपर्ने बेला आएको बताउनुभएको छ ।
लाेकतान्त्रिक नेवा: खलसहितका संघसंस्थाले कीर्तिपुरमा आयाेजना गरेकाे नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले आजको स्वतन्त्रता र अधिकार त्यतिकै प्राप्त नभएको बताउनुभयाे ।
उहाँले लामो संघर्ष र हजारौंको बलिदानीबाट मात्रै अहिलेकाे परिवर्तन सम्भव भएकाले यो अधिकारको महत्वलाई बुझेर त्यसको संरक्षणमा गम्भीर हुनुपर्नेमा सिंहकाे जाेड छ ।
‘हामीले अधिकारलाई मात्रै उपभोग गर्न खोजेर हुँदैन । अधिकारसँगै जोडिएर आउने दायित्व र कर्तव्यहरूको पनि पालना गर्नुपर्छ,’ अधिकार र कर्तव्य एकै सिक्काका दुई पाटा भएको स्मरण गर्दै मन्त्री सिंहले भन्नुभयो, ‘हामीले पाएको अधिकारको संरक्षण हुने कि नहुने भन्ने कुरा हामीले नै गर्ने व्यवहारमा भर पर्दछ ।’उहाँले प्राप्त अधिकार संस्थागत गर्दै राजनीतिक स्थायित्व कायम गरेर समृद्धिकाे बाटाेमा अघि बढ्नुपर्ने धारणा राख्नुभयाे।अधिकारको महत्व नबुझेका कतिपयले अहिले व्यवस्थामाथि नै प्रश्न गरिरहेको सिंहले बताउनुभयाे ।
अधिकार खोसिनुको पीडा भोग्ने र बुझ्नेहरूलाई थाहा भएकाे भन्दै उपप्रधानमन्त्री सिंहले पुरानै व्यवस्थामा फर्किने विषयमा कल्पनासम्म पनि गर्न नसक्ने बताउनुभयो । जनतामा रहेको निराशालाई असल काम र व्यवहारले चिर्दै जानुपर्नेमा उहाँले जोड दिनुभयो । नयाँ वर्षकाे अवसरमा उहाँले सबैलाई सुख, शान्ति र समृद्धिका लागि शुभकामना पनि व्यक्त गर्नुभयाे ।










