औषधिजन्य लागूऔषध दुरूपयोग नियन्त्रण विषयक सचेतनामूलक कार्यक्रम सम्पन्न

-


     हिडन खबर    
     चैत्र २२ गते २०८१ मा प्रकाशित


काठमाडौं, चैत २३

काठमाडौं उपत्यका प्रहरी कार्यालयद्वारा संचालित लागूपदार्थ विरुद्धको महाअभियानअन्तर्गत आज नेपाल औषधि व्यवसायी संघ बागमती प्रदेशको सहकार्यमा औषधिजन्य लागू औषधको दुरुपयोग नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम आयोजना गरियो।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा नेपाल औषधि व्यवसायी संघ बागमती प्रदेशद्वारा नेपाल पुलिस क्लब, भृकुटी मण्डपमा संयुक्त रुपमा आयोजना गरिएको लागू औषध विरूद्धको महाअभियान अन्तर्गत ‘औषधिजन्य लागूऔषध दुरूपयोग नियन्त्रण विषयक सचेतनामूलक कार्यक्रम’ काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा शनिवार सम्पन्न भएको छ ।

लागूऔषध दुर्व्यसनको तथ्याङ्क दिनानुदिन बढ्दै गईरहेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै समाजका हरेक सरोकारवाला पक्षहरुको एउटै सक्रिय संयन्त्रको रुपमा अगाडि बढ्ने आवश्यकतालाई बोध गरी काठमाडौं उपत्यका प्रहरी कार्यालयद्वारा गत फागुन १७ गते गृहमन्त्री रमेश लेखकज्यूको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा एक समारोहबीच लागू औषध विरूद्धको महाअभियानको शुभारम्भ गरिएको थियो । सोही महाअभियान अन्तर्गत नेपाल औषधि व्यवसायी संघ, बागमती प्रदेशको सहकार्यमा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा उक्त सचेतनामूलक कार्यक्रम आयोजना गरिएको थियो ।

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र बागमती प्रदेश नेपाल औषधि व्यवसायी संघका अध्यक्ष ध्रुव नारायण श्रेष्ठ बीच लागू औषध विरूद्ध आपसी सहयोग, समन्वय र सहकार्य सम्बन्धी समझदारीपत्र आदान प्रदान समेत भएको थियो ।   

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले समाजमा लागूऔषध ओसारपसार तथा नियन्त्रण गर्नको लागि यस्ता कार्यक्रम अत्यन्तै महत्वपूर्ण हुने चर्चा गर्दै आगामी दिनमा अन्य सरोकारवाला निकायसँग समेत समन्वय र सहकार्य गर्दै जाने बताउनुभयो । लागू औषध दुर्व्यसनको निराकरणको अभियान प्रहरीको एकल प्रयासले मात्र सम्भव नहुने उल्लेख गर्दै यसका लागि सबै पक्ष, सबै तहको प्रयास जरूरी रहेको समेत उहाँले बताउनुभयो ।

कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल, र वरिष्ठ हृदय रोग विशेषज्ञ डा.ओम मूर्ति अनिलले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लागूऔषधको परिचय, वर्गिकरण, असरहरू, लागूऔषध ओसारपसार र सेवनको तथ्यांक, कानूनी प्रावधान, औषधि व्यवसायीहरूको भूमिका र जिम्मेवारी लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

नेपाल औषधि व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष ध्रुव नारायण श्रेष्ठले कार्यक्रमको आयोजना उद्देश्यबारे जानकारी दिए। उनले भने, “औषधिजन्य लागू औषधको दुरुपयोग र त्यसको नकरात्मक प्रभावलाई रोक्नका लागि आजको यो कार्यक्रम महत्त्वपूर्ण छ। हामी सबैले यसको रोकथाममा एकसाथ काम गर्नुपर्ने आवश्यकता छ।”

कार्यक्रममा बक्ताहरूले लागूपदार्थको दुरुपयोग समाजका सबै वर्गका लागि ठूलो खतरा भएको भन्दै यस विषयमा सचेतना र जानकारीको अभावले यस समस्यालाई अझ गम्भीर बनाएको बताए। उनले दुरुपयोग नियन्त्रणमा सबैको सामूहिक प्रयासको आवश्यकता रहेको स्पष्ट पारे।

कार्यक्रममा जीवन विज्ञान प्रतिष्ठानका प्रशिक्षक; नेपाल औषधि व्यसायी संघ काठमाडौं, भक्तपुर र ललितपुरका अध्यक्ष तथा प्रतिनिधिहरू, औषधि व्यवसायीहरू, सामुदायिक सेवा केन्द्रका प्रतिनिधिहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

नेपाल औषधि व्यवसायी संघ बागमती प्रदेशले आगामी दिनमा यस प्रकारका सचेतनामूलक कार्यक्रमहरू आयोजना गर्ने योजना रहेको जनाएका छन्।