
विराटनगरबाट एक जना भारतीय डाक्टर मानव कंकालसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार पुर्णिया जिल्लाको पूर्णिया नगरपञ्चायतका २६ वर्षीय आदित्य सिंन्हा रहेका छन् ।
उनलाई मङ्गलबार विराटनगर–१५ स्थित मुख्य रानीभन्सार नाकाको १ नम्बर ढाटबाट सिन्हालाई सशस्त्र प्रहरीको सीमा सुरक्षा बल रानीबाट खटिएको प्रहरी टोलीले मानव कंकाल सहित पक्राउ गरेको हो ।
सिन्हाको साथबाट प्रहरीले मानव खप्पर, खुट्टाको हड्डी, हातको हड्डी, करङको हड्डी, बंगराको हड्डी, काँधको हड्डी, घाँटीको हड्डी, हिपको हड्डी, ढाडको हड्डी, औंलाको हड्डी र कुरकुच्चाको हड्डी गरी ४६ वटा मानव कंकाल बरामद गरेको छ ।
उनको साथबाट प्रहरीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा इन्टर्नसीपको समयमा सन् २०१६ मा बनाएको परिचयपत्र पनि बरामद गरेको छ । उनलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको सशस्त्रले जनाएको छ ।
सिन्हाले भारतका संग्रहालयमा बिक्रीका लागि मानव कंकाल लैजान खोजेको आशंका प्रहरीको छ । पक्राउ परेका सिन्हाले भने आफूलाई मानव कंकाल ओसारपसार अवैध हो भन्ने जानकारी नभएकोले भारत लैजान लागेको बताएका छन् । उनले मेडिकल पढ्दा आवश्यक पर्ने भएकोले साथीसँग मागेर लैजान लागेको बताए ।
सिन्हाले एमबिबिएसको अन्तिम परीक्षा दिएर इन्टर्नसिपमा रहेको बताएका छन् । उनको साथबाट भेटिएको मानव हड्डीहरुमा साना अक्षरले लेखिएको छ । अध्ययन प्रयोजनका लागि लेखिएको हड्डीहरु अध्ययनकै लागि घर तर्फ लगेको उनले बताए ।
नाकाबाट पक्राउ परेका सिन्हालाई सशस्त्र प्रहरीले आवश्यक कारवाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाएको छ । मानव अंगको ओसारपसार कानुनी अनुसार प्रतिबन्धित छ ।









