ईस्लाम धर्मावलीहरूको महान् पर्व ईद (ईद उल फित्र) को अवसरमा माआ‌ेवादी अध्यक्ष दाहालकाे शुभकामना सन्देश

-


     हिडन खबर    
     चैत्र १७ गते २०८१ मा प्रकाशित


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माआ‌ेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ईस्लाम धर्मावलीहरूको महान् पर्व ईद (ईद उल फित्र) को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभ-कामना व्यक्त गरेका छन् ।

बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक विशेषतायुक्त नेपाल र नेपाली समाजका निम्ति इदलगायतका पर्वहरू कुनै समुदाय विशेषका मात्र पर्व नभएर राष्ट्रिय पर्वका रुपमा स्थापित भएका छन्। हरेक चाडपर्वहरूको आफ्नो ऐतिहासिक र विशिष्ट महत्व हुने गर्दछ। मानव जातिले जीवनवृत्तिका क्रममा प्राप्त गरेका अनुभव, शिक्षा र ज्ञानको समुच्चय प्रक्रियाबाट नै चाडपर्वहरू विकसित र स्थापित हुँदै आएका छन् अध्यक्ष दाहालले शुभकामना सन्देशमा भनेका छन् ।

यस सन्दर्भमा, नेपालको धार्मिक विविधतालाई समृद्ध तुल्याउन तथा सहिष्णुता एवंम् सहकार्यको संस्कृतिलाई सवलिकृत तुल्याउन ईद पर्वको महत्वपूर्ण भूमिका रहँदै आएको छ। मान्यजनबाट आशिर्वाद लिने तथा आफ्नो आम्दानीको केही अंश दान गर्नुपर्ने धार्मिक मान्यताले नेपाली समाजलाई सहयोगी तथा मानवीय बन्‍न उत्प्रेरित गरेको छ। आपसी सद्‍भावको चाडको रुपमा मनाइने ईदले सबै नेपालीबीच बन्धुत्वको भावना बढाउन, सामाजिक सद्भाव अभिवृद्धि गर्न योगदान पुग्ने तथा राष्ट्रिय एकता, समुन्‍नत एवम् समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा थप प्रेरणा मिल्ने विश्‍वास लिएको छु भनेर अध्यक्ष दाहालले भनेका छन् ।

अन्त्यमा, यस पर्वले सम्पूर्ण नेपालीहरूबीच आपसी एकता, सहिष्णुता र सद्‍भाव कायम गरी न्यायपूर्ण तथा समृद्ध समाज निर्माण गर्न मद्दत पुग्ने विश्‍वासका साथ शुभ-कामना व्यक्त गर्दछु भनेर अध्यक्ष दाहालले भनेका छन् ।