बागलुङमा झण्डै पाँच हजार बिद्यार्थी एसइई परीक्षा दिदै 

-


     हिडन खबर    
     चैत्र ६ गते २०८१ मा प्रकाशित


बागलुङ चैत ६

बागलुङमा झण्डै पाँच हजार विद्यार्थीले माध्यामिक शिक्षा परीक्षा (एसइई) दिने भएका छन् । चैत ७ गतेदेखि शुरू हुने परीक्षामा जिल्लाका १ सय ४६ विद्यालयका ४ हजार ९९० जना विद्यार्थीले परीक्षामा सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख प्रकाश बन्धु अर्यालले बताए ।

शिक्षा विकास तथा समन्वय इकाई बागलुङले बुधबार पत्रकार सम्मेलन गरेर जिल्लाका दश स्थानीय तहमा ३१ परीक्षा केन्द्रबाट बिद्यार्थीले परीक्षा दिन लागेको जनाएको छ ।

परीक्षाका लागि नियमित साधारण तर्फ ३ हजार ७ सय ९८ जना र नियमित प्राविधिक तर्फ २ सय ४७ जना विद्यार्थीले परीक्षामा सहभागीता जनाउने प्रमुख अर्यालले जानकारी दिए । ग्रेडवृद्धि साधारण तर्फ ८८१ जना, ग्रेडवृद्धि प्राविधिक तर्फ १९ जना र पुरानो ग्रेडवृद्धि (२०७८/०७९) तर्फ ४५ जना विद्यार्थी परीक्षामा सहभागी हुन लागेको छ ।

बागलुङमा १० वटा विद्यालयका बिद्यार्थीले प्राविधिक धारको परीक्षा दिनेछन् । पशु विज्ञानतर्फ ३, बाली विज्ञानतर्फ ३, सिभिल इन्जिनियरतर्फ २ र कम्प्युटर इन्जिनियरतर्फ २ वटा विद्यालयले परीक्षा दिन लागेका हुन् ।

यस्तै यस वर्ष अपांगता भएकातर्फ धौलागिरि बहिरा माविबाट १५ जना बहिरा विद्यार्थीले र बलेवास्थित जनता–धन माविबाट ३ जना दृष्टीविहिन विद्यार्थीले पनि परीक्षा दिन लागेका छन् । यस्तै संस्कृत तर्फ २ जना बटुकले पनि परीक्षामा सहभागिता जनाउदै छन् ।