प्रधानाध्यापक संघ नेपाल गलकोट गठन

-


     हिडन खबर    
     फागुन ११ गते २०८१ मा प्रकाशित


बागलुङ । गैर राजनीतिक, गैर नाफामुलक, गैर युनियन तथा पेशागत संस्था गलकोटमा प्रधानाध्यापकहरूको छाता संगठन प्रधानाध्यापक संघ नेपाल गलकोट शाखाको गठन भएको छ ।

नेपालका सामुदायिक विद्यालयहरूको शैक्षिक उन्नयनमा विविध कार्यहरू गर्ने, शिक्षा सम्बन्धि तालिम, गोष्ठि, सम्मेलन आयोजना गर्ने योजना रहेको छ ।यस्तै  गुणस्तरीय शिक्षाको विकासमा शिक्षण, प्रशिक्षण, अनुसन्धान तथा प्रकाशनको महत्व र आवश्यकतालाई महशुस गरि गुणस्तरीय शिक्षाका लागि टेवा पुर्याउन सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई उत्प्रेरित गर्दै राष्ट्रीय तथा अन्तराष्ट्रिय शैक्षिक संघ संस्थाहरूसँग सहकार्य गरेर अगाडि बढ्ने योजना रहेको छ । शैक्षिक अभ्यासहरूको आदान-प्रदान गर्ने, शिक्षक तथा कर्मचारीहरूको हितमा विभिन्न कार्यहरू गरी सामुदायिक विद्यालयहरूको शैक्षिक उन्नयनमा कटिवद्ध हुदै शिक्षाका राष्ट्रिय र अन्तराष्ट्रिय उद्धेश्यहरू हासिल गर्ने हेतुले प्रधानाध्यापक संघ नेपालको विधिवत स्थापना गरिएको अध्यक्ष नरबहादुर सुनारले बताए ।

नव निर्वाचित कार्य समितिमा अध्यक्ष नर बहादुर सुनार उपाध्यक्ष पुर्ण चोखाल, सचिव बुद्धि प्रसाद गौतम, सहायक सचिव निर्मला सुवेदी, कोषाध्यक्ष सृजना घर्ती र सदस्यहरूमा प्रेम सागर सापकोटा, भगवान बोहोरा, अनिल गौतम, विष्णु प्रसाद गैरे, नविन सुवेदी, धन कुमारी भण्डारी, शोभा गौतम, निम्मा श्रीस, दुर्गा कुमारी घर्ती, सुशिला खत्री, चन्द्र कुमारी श्रीस, नरेन्द्र पुन रहनु भएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा रहनु भएका गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले प्रधानाध्यापक संघ नेपाल गलकोट नगर कार्य समिति गलकोटको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि एउटा मजवुत संस्था हुन सक्ने विश्वास व्यक्त गर्नु भएको थियो ।

खासगरि प्रधानाध्यापकहरूको क्षमता अभिवृद्धि हुनु भनेको गलकोट नगरपालिकाको शैक्षिक क्षेत्र थप बलियो हुने भएकाले कटिवद्ध भएर शैक्षिक उन्नयनमा लाग्नका लागि प्रधानाध्यापकहरूलाई गैरेले अनुरोध गर्नुभएको थियो ।

गैरेले गलकोटको शैक्षिक विकासका निम्ति कानुनसम्मत् रूपमा प्रधानाध्यापक संघ नेपाल गलकोट कार्य समितिसँग सहकार्य गर्न सकिने विचार समेत राख्नुभएको थियो ।

कार्यक्रममा प्रधानाध्यापक संघ नेपालका जिल्ला अध्यक्ष हरि चालिसे एबिसीले संस्थाको उद्देश्य तथा कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा गलकोट नगरपालिका नगर शिक्षा अधिकृत शिव खड्का, नगर शिक्षा समितिका सदस्य तेजेन्द्र बहादुर बुढाथोकी, राम प्रसाद शर्मा, एकिकृत नेपाल राष्ट्रिय शिक्षक संगठन गलकोटका अध्यक्ष हेम बहादुर बुढाथोकीले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको  थियो ।

कार्यक्रम प्रधानाध्यापक संघ नेपाल जिल्ला सदस्य नर बहादुर सुनारको अध्यक्षता, जिल्ला सदस्य शेर बहादुर थापाको स्वागत र जिल्ला सदस्य धन बहादुर थापाको सन्चालनमा सम्पन्न भएको थियो  ।